- जेष्ठ १, २०८३
- No Comment
- 58
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
नेपाल बीमा प्राधिकरणद्वारा आयोजित ५८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले बीमालाई नागरिकको दुःखको साथीका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका हुन्। उनले विपत्तिका बेला नागरिकले सबैभन्दा पहिले सम्झिने विश्वासिलो माध्यम बीमा क्षेत्र बन्नुपर्ने बताए गरे।
“बीमा विपत्तिको साथी हो। अप्ठ्यारो पर्दा नागरिकले सम्झिने र भरोसा गर्ने क्षेत्र बन्नुपर्छ,” मुख्यमन्त्री कँडेलले भने।
उनले कर्णालीजस्ता दुर्गम क्षेत्रमा अझै पनि बीमा सेवाको पहुँच पर्याप्त नभएको उल्लेख गर्दै सेवा विस्तारमा जोड दिए। गाउँ–गाउँसम्म बीमा सेवा पुर्याउन तथा नागरिकमा बीमाप्रति सकारात्मक सोच विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो।
मुख्यमन्त्री कँडेलले जनचेतनाको अभावका कारण धेरै नागरिक अझै बीमाको पहुँचबाट बाहिर रहेको उल्लेख गर्दै प्रदेश सरकारले बीमासम्बन्धी जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राखेको जानकारी दिए। “हाम्रो समाज बनिबनाउ सोचमा गएको छ। राम्रो कुरा सिक्ने र आफ्नो ठाउँ आफैं बनाउने संस्कार विकास गर्नुपर्छ,” उनले भने।
दुःख र संकटका बेला बीमा क्षेत्रले नागरिकको सारथी बन्नुपर्नेमा जोड दिँदै उनले आर्थिक कारोबार गर्ने संस्था तथा व्यक्तिहरू विश्वसनीय र आर्थिक रूपमा अनुशासित हुनुपर्ने बताए। साथै, सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने धारणा पनि उनले राखे।
कार्यक्रममा मुख्यमन्त्री कँडेलले बीमा क्षेत्रमा देखिएको दाबी भुक्तानी प्रक्रियाको जटिलताप्रति पनि ध्यानाकर्षण गराए। नागरिकले सहज र छिटो सेवा पाउनुपर्ने उल्लेख गर्दै उनले भुक्तानी प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाउन आवश्यक रहेको बताए।



