- बैशाख २१, २०८३
- No Comment
- 53
चौकुने गाउँपालिकाद्वारा सरकारी सवारी साधन बुझाउन निर्देशन

सुर्खेत। चौकुने गाउँपालिकाले सरकारी सवारी साधन दुरुपयोग नियन्त्रण तथा खर्च व्यवस्थापनका लागि सम्बन्धित कर्मचारीलाई सवारी साधन बुझाउन निर्देशन दिएको छ। गाउँ कार्यपालिकाको कार्यालय, गुटु सुर्खेतद्वारा जारी सूचनामा पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण इन्धन खर्च बढेको तथा मर्मतसम्भार खर्च समेत उच्च भएको उल्लेख गर्दै सरकारी स्रोत–साधनको प्रभावकारी उपयोग आवश्यक भएको जनाएको छ।
उक्त सूचनाअनुसार गाउँपालिकाका विभिन्न शाखामा कार्यरत शाखा प्रमुख, वडा सचिव लगायत सम्पूर्ण कर्मचारीहरूले आफ्नो जिम्मामा रहेका सरकारी सवारी साधनहरू २०८३ बैशाख २४ गतेभित्र कार्यालय समयमा सम्बन्धित शाखामा बुझाउनुपर्ने उल्लेख गरिएको छ।
गाउँपालिकाले यस कदमबाट इन्धन खर्च न्यूनिकरण, सवारी साधनको दुरुपयोग नियन्त्रण तथा स्रोतको न्यायोचित विनियोजनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। उक्त निर्देशनको जानकारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रशासन शाखालाई समेत गराइएको छ।



