- चैत्र १९, २०८२
- No Comment
- 5
आजदेखि SEE परीक्षा सञ्चालन
सुर्खेत । सुर्खेत जिल्लाको चौकुने गाउँपालिका अन्तर्गत झकमके गुटुस्थित जीवन ज्योति माध्यमिक विद्यालयमा आजदेखि माध्यमिक शिक्षा परीक्षा (SEE) सञ्चालन सुरु भएको छ। उक्त परीक्षा केन्द्रमा सिद्धेश्वरी माध्यमिक विद्यालय सान्नेघारी, जगन्नाथ माध्यमिक विद्यालय बिजौरा, जनता माध्यमिक विद्यालय विद्यापुर तथा विद्याज्योति माध्यमिक विद्यालय सुन्दरपुरका विद्यार्थीहरू सहभागी रहेका छन्।
परीक्षा आज बिहान ८ बजेदेखि नियमित रूपमा सुरु भएको हो। परीक्षा केन्द्रका केन्द्राध्यक्ष भानुभक्त घिमिरेको नेतृत्वमा परीक्षा सञ्चालन भइरहेको छ। यस परीक्षा केन्द्रमा अनिवार्यतर्फ १९३ जना तथा ग्रेडवृद्धि तर्फ २३ जना गरी कुल २१६ जना परीक्षार्थीहरू सहभागी भएका छन्।
परीक्षा सुरुवातका अवसरमा विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, ईलाका प्रहरी कार्यालय गुटु तथा सशस्त्र प्रहरी बेस क्याम्प गुटुका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।उपस्थित सरोकारवालाहरूले विद्यार्थीहरूलाई स्वागत गर्दै शान्त, मर्यादित र व्यवस्थित रूपमा परीक्षा सञ्चालन गर्न सबैलाई आग्रह गरेका छन्। यस वर्षको SEE परीक्षा सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ।