- चैत्र १९, २०८२
- No Comment
- 6
२७ दिन पछि भेरी नदिमा इनिशाको अन्त्यष्टि
सुर्खेत — गत फागुन २३ गते वीरेन्द्रनगरस्थित सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा भेटिएकी इनिशा बिकको २७ दिनपछि भेरी नदीमा अन्त्येष्टि गरिएको छ।
घटनापछि परिवारले दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका कारण इनिशाको शव २७ दिनसम्म कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको थियो। घटनामा संलग्न व्यक्तिहरू पक्राउ परेर अदालतबाट पुर्पक्षका लागि थुनामा राख्न आदेश आएपछि परिवार शव बुझ्न सहमत भएको हो।
प्रहरीले दुई साताको अनुसन्धानपछि गत साता सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। त्यसपछि सरकारी वकिल कार्यालयले सुर्खेत जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो।
मंगलबार भएको थुनछेक बहसपछि अदालतले घटनामा संलग्न चारै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले उक्त आदेश दिएको हो। अदालतको आदेशअनुसार आरोपितहरूलाई बाल सुधार गृह पठाइने जनाइएको छ।
फागुन २३ गते शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी इनिशा बिहान करिब ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ अन्तर्गत जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन्। घटनापछि उनको उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको थियो।
घटनाले देशभर व्यापक ध्यानाकर्षण गराएको थियो भने पीडितलाई न्याय दिलाउन स्थानीयस्तरमा दबाब समेत सिर्जना भएको थियो।