- चैत्र १६, २०८२
- No Comment
- 9
कोलेस्ट्रोल नियन्त्रण गर्न के गर्ने?
उच्च कोलेस्ट्रोल अहिले विश्वभरि बढ्दो स्वास्थ्य समस्याका रूपमा देखिएको छ। विशेषगरी युवाहरूमा समेत यसको प्रभाव बढ्दै गएको छ, जसले भविष्यमा मुटु तथा मस्तिष्कसम्बन्धी गम्भीर रोगको जोखिम बढाउँछ। रगतमा कोलेस्ट्रोलको मात्रा लामो समयसम्म उच्च रहँदा रक्तनलीमा बोसो जम्न थाल्छ, जसले हार्टअट्याक र स्ट्रोक जस्ता समस्या निम्त्याउन सक्छ।
विशेषज्ञहरूका अनुसार कोलेस्ट्रोल नियन्त्रणका लागि औषधि मात्र पर्याप्त हुँदैन, खानपान र जीवनशैलीमा सुधार गर्नु अत्यन्त आवश्यक छ। चिकित्सकको सल्लाह अनुसार औषधि नियमित सेवन गर्नुपर्छ भने दैनिक आहारमा पनि विशेष ध्यान दिनुपर्छ।
कोलेस्ट्रोल बढाउने मुख्य कारणमध्ये अस्वस्थ खानपान प्रमुख हो। बोसोयुक्त तथा चिल्लो खानेकुराले रगतमा खराब कोलेस्ट्रोल बढाउँछ। विशेषगरी रातो मासु, कुखुराको मासु, अण्डाको पहेँलो भाग जस्ता खानेकुराको सेवन कम गर्न सुझाव दिइन्छ। मासु खानै परे महिनामा एकपटक मात्र सीमित गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।
होटल तथा बाहिरका खानेकुरामा बढी तेल र बोसो प्रयोग हुने भएकाले यस्ता खानेकुराबाट टाढा रहनुपर्छ। फास्टफुड, जंकफुड, प्याकेटमा लामो समयसम्म राखिने खानेकुरा र प्रशोधित मासु (जस्तै ससेज) ले पनि कोलेस्ट्रोल बढाउने खतरा हुन्छ।
वनस्पति घ्यू, बटर, मक्खन, दूधजन्य पदार्थको अत्यधिक प्रयोगले पनि कोलेस्ट्रोल बढाउन सक्छ। चियामा दूधको मात्रा बढी भएमा त्यसले पनि असर पार्न सक्छ।
कोलेस्ट्रोल नियन्त्रणका लागि फाइबरयुक्त खाना अत्यन्त उपयोगी मानिन्छ। सागसब्जी, फलफूल, गेडागुडी तथा रेसादार खाद्य पदार्थले आन्द्रामा कोलेस्ट्रोल घटाउन सहयोग गर्छ। यस्ता खानाले राम्रो कोलेस्ट्रोल (HDL) बढाउन पनि मद्दत गर्दछ।
माछा सेवन गर्दा धेरै तेल प्रयोग नगरी पकाउन सल्लाह दिइन्छ, जसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ।
नियमित शारीरिक व्यायामले शरीरमा राम्रो कोलेस्ट्रोल बढाउन मद्दत गर्छ। मोटोपन भएका व्यक्तिले तौल घटाउन सकेमा कोलेस्ट्रोल नियन्त्रणमा उल्लेखनीय सुधार देखिन्छ।
धूम्रपान र मदिरापान पनि कोलेस्ट्रोल बढाउने प्रमुख कारण हुन्। धूम्रपानले खराब कोलेस्ट्रोल बढाएर मुटु रोगको जोखिम उच्च बनाउँछ। त्यसैले यस्ता बानी त्याग्नुपर्ने चिकित्सकहरूको सुझाव छ।
खानपान र जीवनशैली सुधार गर्दा पनि कोलेस्ट्रोल नियन्त्रणमा नआएमा त्यसको कारण वंशाणुगत (जेनेटिक) हुन सक्छ। यस्तो अवस्थामा दीर्घकालीन रूपमा औषधि सेवन आवश्यक हुन्छ र जोखिम पनि बढी हुने गर्दछ।
विशेषज्ञहरूका अनुसार उचित खानपान, नियमित व्यायाम र स्वस्थ जीवनशैली अपनाएमा करिब ९० प्रतिशतसम्म कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ।
डाक्टर अाेममुर्ति अनिल