- चैत्र १२, २०८२
- No Comment
- 6
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो
काठमाडौं — नेपाली समाजमा मासु, चिल्लो खाना, गुलियो पदार्थ तथा मदिराको प्रयोग बढ्दो क्रममा रहेको छ। तर चिकित्सकहरूका अनुसार केही रोग भएका व्यक्तिका लागि मासु सेवन स्वास्थ्यका दृष्टिले हानिकारक हुन सक्छ।
विशेषगरी मुटु रोग, उच्च रक्तचाप, मधुमेह, मृगौला सम्बन्धी समस्या, यूरिक एसिड, मोटोपन, उच्च कोलेस्टेरोल, कब्जियत, क्यान्सर तथा ग्यास्ट्राइटिस भएका बिरामीहरूले मासुको सेवनमा विशेष सावधानी अपनाउनुपर्ने बताइएको छ। यस्ता व्यक्तिले सकेसम्म मासु नखाने, वा खाए पनि सीमित मात्रामा मात्र सेवन गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।
चिकित्सकहरूका अनुसार रातो मासुभन्दा सेतो मासु तुलनात्मक रूपमा सुरक्षित मानिन्छ। विशेषगरी उसिनेको मासु सेवन गर्नु राम्रो हुने र खसी तथा राँगाजस्ता रातो मासुको प्रयोग घटाउन सुझाव दिइएको छ।
मासु सेवनको मात्रा कति उचित ?
स्वास्थ्य विज्ञहरूका अनुसार मानिसलाई बाँच्नका लागि अनिवार्य रूपमा मासु आवश्यक पर्दैन। यद्यपि, मासु प्रोटिनको महत्वपूर्ण स्रोत हो। एक वयस्क व्यक्तिलाई शरीरको तौलअनुसार प्रति केजी ०.८ ग्राम प्रोटिन आवश्यक पर्छ। सामान्यतया महिलालाई दैनिक ४६ ग्राम र पुरुषलाई ५६ ग्राम प्रोटिन आवश्यक पर्ने बताइन्छ।
शारीरिक अवस्था अनुसार प्रोटिनको आवश्यकता फरक–फरक हुन सक्छ। कमजोर वा दुब्लो व्यक्तिका लागि प्रति केजी ०.६५ ग्राम र तौल बढाउन चाहनेका लागि प्रति केजी १ ग्राम प्रोटिन आवश्यक पर्छ। उदाहरणका लागि ६८ केजी तौल भएको व्यक्तिलाई दैनिक करिब ९७.५ ग्राम मासु आवश्यक पर्न सक्छ।
चिकित्सकको भनाइ
चिकित्सक पारस पन्जियारका अनुसार रातो मासुमा प्रोटिनको मात्रा बढी हुने भएकाले यसको अत्यधिक सेवनले शरीरमा यूरिक एसिड बढाउने, मुटु तथा रक्तनलीमा समस्या ल्याउने जोखिम हुन्छ। त्यसैले रातो मासु कम खानु वा नखानु नै उपयुक्त हुने उनी बताउँछन्।
उनले मासुसँगै सन्तुलित आहारमा हरियो सागसब्जी, फलफूल, दूध र अण्डा पनि समावेश गर्नुपर्नेमा जोड दिएका छन्। यस्ता पोषणयुक्त खानेकुरा नियमित सेवन गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताइएको छ।
सुरक्षित रूपमा मासु सेवन गर्न सुझाव
चिकित्सकहरूले मासु राम्रोसँग पकाएर मात्र खानुपर्नेमा जोड दिएका छन्। राम्रोसँग नपाकेको मासु खाँदा त्यसमा रहेका किटाणु शरीरभित्र प्रवेश गरी विभिन्न संक्रमण निम्त्याउन सक्छन्। साथै मासु प्रयोग गर्नु अघि जनावर स्वस्थ छ कि छैन भन्ने यकिन गर्न पनि आवश्यक रहेको सुझाव दिइएको छ।
विशेषगरी चाडपर्वका बेला मासुको खपत बढ्ने भएकाले यसको सेवनमा विशेष सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्।