- चैत्र १२, २०८२
- No Comment
- 0
बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु
ढाका — बङ्गलादेशको पद्मा नदीमा यात्रु बस खस्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते तथा बेपत्ता भएका छन्।
प्रहरी निरीक्षक रसेल मोल्लालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार दुर्घटना साँझ करिब ५ बजे भएको हो। करिब ४० जना यात्रु बोकेको बस राजबारीबाट ढाकातर्फ जाँदै गर्दा ढाकाबाट करिब १२८ किलोमिटर टाढा दौलतदिया फेरी टर्मिनल नम्बर–३ अगाडिबाट अनियन्त्रित भई पद्मा नदीमा खसेको थियो।
दुर्घटना रातिको समयमा भएकाले उद्धार कार्य केही समयका लागि प्रभावित भएको थियो। उज्यालो भएपछि पुनः तीव्र रूपमा उद्धार अभियान सञ्चालन गरिएको जनाइएको छ।
हालसम्म २३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। अझै केही यात्रु बेपत्ता हुन सक्ने आशंका गरिएको छ।
उद्धार कार्यमा सेना, अग्निनियन्त्रण सेवा र प्रहरीसहितका संयुक्त टोली परिचालन गरिएको छ। घटनास्थलमा स्थानीयवासी तथा पीडितका आफन्तहरूको भीड लागेको छ भने उद्धार टोलीले बस र नदीमा हराएका यात्रुको खोजी कार्य जारी राखेको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।