- चैत्र ३, २०८२
- No Comment
- 0
यूएईले अस्थायी रूपमा बन्द गर्यो हवाई क्षेत्र
काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको जनाएको छ । इरानबाट सम्भावित ड्रोन तथा क्षेप्यास्त्र आक्रमणको जोखिम बढेपछि ‘असाधारण सावधानी’ अपनाउँदै यस्तो निर्णय गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यूएईको सरकारी समाचार एजेन्सीका अनुसार उड्डयन अधिकारीहरूले मंगलबार सुरक्षा अवस्थालाई ध्यानमा राख्दै देशको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएका हुन् । क्षेत्रीय सुरक्षास्थितिलाई ध्यानमा राख्दै यो कदम चालिएको बताइएको छ ।
यसैबीच इजरायली सेनाले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र इजरायलतर्फ आउँदै गरेको दाबी गर्दै जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । टेलिग्राममार्फत जारी गरिएको आपत्कालीन सन्देशमा भनिएको छ, “खतरा रोक्न रक्षा प्रणाली सक्रिय पारिएको छ ।”
मध्यपूर्वमा पछिल्लो समय तनाव झन् चुलिएको छ । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेपछि क्षेत्रीय द्वन्द्व थप तीव्र बनेको बताइएको छ ।
उक्त घटनापछि इरानले प्रतिकारस्वरूप इजरायल तथा अमेरिकी सैन्य अड्डा रहेका खाडी क्षेत्रका देशहरूतर्फ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार स्रोतहरूले जनाएका छन् । यसका कारण मध्यपूर्वका विभिन्न देशहरूमा सुरक्षा सतर्कता बढाइएको छ ।
यसैबीच इरानले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई लक्षित गर्दै कडा चेतावनी दिएको बताइएको छ । इरानी पक्षले नेतन्याहुलाई खोजी–खोजी मार्ने चेतावनी दिएको खबर बाहिरिएपछि क्षेत्रीय तनाव थप बढ्ने चिन्ता व्यक्त गरिएको छ ।
हाल मध्यपूर्वका धेरै देशहरूले हवाई सुरक्षा तथा नागरिक सुरक्षाका उपायहरू कडाइका साथ लागू गरिरहेका छन् ।