- चैत्र २, २०८२
- No Comment
- 26
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीले भट्टलाई साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गरेको जनाएको छ। केही दिनअघि एक अन्तर्वार्ताका क्रममा भट्टले मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ घुस मागेको र रकम नदिएपछि पूर्वाग्रही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए।
उक्त अभिव्यक्तिपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले भट्टलाई पत्र पठाउँदै मुख्यमन्त्रीविरुद्ध सार्वजनिक रूपमा दिएको अभिव्यक्ति निजामती कर्मचारीको आचरण विपरीत भएको उल्लेख गर्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएका थिए।
मन्त्रालयले भट्टले दिएको अभिव्यक्ति निराधार, कपोलकल्पित तथा चरित्रहत्या गर्ने उद्देश्यले सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएको थियो। साथै, यसअघि पनि भट्टले विभिन्न व्यक्तिमाथि विवादास्पद आरोप लगाएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
मन्त्रालयले चित्तबुझ्दो जवाफ नदिए कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको थियो।
यता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मुख्यमन्त्री शाहले आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको बताउँदै भट्टमाथि कारबाहीको माग गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



