- चैत्र २, २०८२
- No Comment
- 35
पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन र रोजगारी सिर्जना गर्ने उदाहरण प्रस्तुत गरेका छन्। स्थानीय २३ वर्षिय युवा मंगल बि.सी. ले करिब १२ लाख रुपैयाँको लगानीमा जुत्ता–चप्पल उत्पादन गर्ने सानो उद्योग सञ्चालनमा ल्याएका हुन्। उद्योग सञ्चालनसँगै हालसम्म तीन जना युवाले प्रत्यक्ष रोजगारी पाएका छन् भने आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने योजना रहेको मंगल बि.सी.ले जानकारी दिनुभयो।
उद्योगमा उत्पादन गरिएका जुत्ता तथा चप्पलहरु सुर्खेतको बराहताल, पञ्चपुरी तथा चौकुने क्षेत्रमा बिक्री तथा सप्लाई हुँदै आएको छ। स्थानीय बजारलाई लक्षित गर्दै उत्पादन सुरु गरिएको भए पनि भविष्यमा उत्पादनको दायरा बढाएर अन्य जिल्लासम्म विस्तार गर्ने योजना रहेको बताइएको छ। उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थ भने भारतको दिल्लीबाट ल्याइने गरिएको उद्योगी बि.सी.ले बताउनुभयो। गुणस्तरीय सामग्री प्रयोग गरेर स्थानीय बजारमा सस्तो र टिकाउ जुत्ता–चप्पल उपलब्ध गराउने लक्ष्य रहेको उहाँको भनाइ छ।
विदेश जाने सोच राख्ने युवाहरुका लागि आफूले सानो प्रयासबाट सुरु गरेको यो उद्योग प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्दै बि.सी.ले युवालाई आफ्नै देशमा सम्भावना खोज्न आग्रह गर्नुभयो। “विदेश गएर दुःख गर्नु भन्दा आफ्नै ठाउँमा केही गर्ने सोच बनायौं भने अवसर यहीँ पनि छ,” उहाँले भन्नुभयो। स्थानीय स्रोत र श्रमको प्रयोग गर्दै सञ्चालन गरिएको यो उद्योगले स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ। युवा उद्यमीहरुको यस्तो पहलले गाउँमै रोजगारी सिर्जना हुनुका साथै आयआर्जनका नयाँ सम्भावनाहरु पनि बढ्दै जाने विश्वास स्थानीयले गरेका छन्।
युवा उद्यमी मंगल बि.सी.को यो प्रयासले गाउँमै उद्यमशीलताको राम्रो सन्देश दिएको छ। विदेश पलायन बढिरहेको अवस्थामा स्वदेशमै लगानी गरेर उत्पादन र रोजगारी सिर्जना गर्ने उनको पहल अन्य युवाका लागि पनि प्रेरणादायी बन्न सक्ने बताएका छन् ।
Dilip sent 4 photos



