- पुस २७, २०८२
- No Comment
- 111
टी–२० अभ्यास श्रृंखलाअन्तर्गत अमेरिकाविरुद्ध नेपाल चार विकेटले विजयी

काठमाडौँ । टी–२० अभ्यास श्रृंखलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले चार विकेटको महत्वपूर्ण जित निकालेको छ। यो जितसँगै अभ्यास श्रृंखलामा नेपालको पहिलो सफलता आएको छ।
यसअघि भएका दुई खेलमा नेपालले अमेरिका र स्कटल्याण्डसँग हार बेहोरेको थियो। आइतबार अमेरिकाले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै खेल आफ्नो पक्षमा पार्यो।
नेपालको जितमा ओपनर सम्झना खड्काले उत्कृष्ट प्रदर्शन गरिन्। उनले ३२ बलमा ४९ रन बनाउँदै जितको आधार तयार गरिन्। जारी अभ्यास श्रृंखलामा सम्झना उच्च लयमा देखिएकी छन्। यसअघि भएका दुई खेलमा पनि उनले अर्धशतकीय पारी खेलेकी थिइन्।
त्यस्तै, उपकप्तान पूजा महतोले जिम्मेवार ब्याटिङ गर्दै २८ बलमा ४३ रन बनाइन्। उनी खेलको अन्त्यसम्म अविजित रहँदै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलिन्।
नेपालले आईसीसी महिला टी–२० विश्वकप छनोटको तयारीस्वरूप अमेरिका र स्कटल्याण्डसँग अभ्यास श्रृंखला खेलिरहेको हो। आसन्न महिला टी–२० विश्वकप छनोट प्रतियोगिता आगामी जनवरी १८ देखि काठमाडौँमा सुरु हुने तालिका छ।



