- पुस २५, २०८२
- No Comment
- 79
प्रतिनिधि सभा निर्वाचनका लागि सुर्खेतले माग्याे १ हजार ८४० निर्वाचन प्रहरी

सुर्खेत — सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गरेसँगै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुर्खेत जिल्लाबाट १ हजार ८४० जना निर्वाचन प्रहरी माग गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार निर्वाचन सुरक्षाका लागि आवश्यक जनशक्ति पूर्तिका लागि भर्ना प्रक्रिया सुरु गरिएको हो। कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा हुने निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त परिचालन गरिनेछ।
निर्वाचन प्रहरीका लागि दरखास्त फाराम जिल्ला प्रहरी कार्यालय, वीरेन्द्रनगर, इलाका प्रहरी कार्यालयहरू छिन्चु, भेरीगंगा, बाबियाचौर–पञ्चपुरी, लेकवेशी, बादेपिपिल–सिम्ता, अवलचिङ–चिङ्गाड, प्रहरी चौकी मेहेलकुना, गुर्भाकोट, साथै सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गण हे.क्वा. रक्तकाली, सुरक्षा बेस चिप्ले (भेरीगंगा–११), गुटु (चौकुने–८) र घुमखहरे (गुर्भाकोट–१०) बाट प्राप्त गर्न सकिने जनाइएको छ।
त्यसैगरी, भरेका दरखास्त फाराम जिल्ला प्रहरी कार्यालय सुर्खेत र सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गण हे.क्वा. रक्तकाली, सुर्खेत मा बुझाउन सकिने व्यवस्था गरिएको छ।
गृह मन्त्रालयका अनुसार सरकारले स्वीकृत गरेको मापदण्डअनुसार देशभर निर्वाचन सुरक्षाका लागि कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरिनेछ। तीमध्ये नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० जना परिचालन गरिने जनाइएको छ।
मापदण्डअनुसार भर्ना हुने निर्वाचन प्रहरीले १० दिनको तालिम र ३० दिन कार्यस्थलमा सेवा गर्नेछन्। उनीहरूलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाक तथा अन्य सेवासुविधा प्रदान गरिनेछ। रासन सुविधा भने सम्बन्धित जिल्लाको दररेटअनुसार उपलब्ध गराइने गृह मन्त्रालयले जनाएको छ।
त्यस्तै, छनोट भएका निर्वाचन प्रहरीलाई आउने–जाने तयारी खर्चबापत प्रति व्यक्ति ८ सय ४६ रुपैयाँ र चार दिनको खाजा खर्चबापत एकमुष्ट १ हजार २ सय रुपैयाँ उपलब्ध गराइने व्यवस्था गरिएको छ। तलब, रासन र पोसाकबापतको रकम सम्बन्धित व्यक्तिको बैंक खातामै जम्मा गरिनेछ।
पोसाक भत्ता भने हिमाल, पहाड तथा तराई/मधेस क्षेत्रअनुसार फरक–फरक हुने उल्लेख छ। नेपाल प्रहरी मातहत खटिने निर्वाचन प्रहरीका लागि निलो डांग्री कपडा र टोपी, जबकि सशस्त्र प्रहरी बल मातहत खटिनेका लागि सशस्त्र प्रहरीको पोसाकसँग मिल्दोजुल्दो कपडा र टोपी अनिवार्य गरिएको छ।



