- जेष्ठ १७, २०८३
- No Comment
- 1
लागुऔंषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकामा लागुऔंषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कर्णाली जागरण केन्द्रको आयोजना, अष्ट्रेलियन एडको आर्थिक सहयोग, चौकुने गाउँपालिकाको समन्वय तथा सहजिकरण समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा कार्यक्रम सञ्चालन गरिएको हो । जयन्ती दर्लामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौकुने गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष गोबिन्द थापा प्रमुख अतिथि रहनुभएको थियो ।
यस्तै स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डे, इलाका प्रहरी कार्यालय गुटुका बुद्धसागर चौधरी, महिला सञ्जाल करुणा मास्के, जीवन ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र ढकाल तथा अपाङ्गता सचेतना केन्द्रका अध्यक्ष दीपक गौतमको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा कर्णाली जागरण केन्द्रकी अध्यक्ष करुणा मास्केले स्वागत मन्तव्य व्यक्त गर्दै समाजमा बढ्दो लागुऔंषध दुर्व्यसन र बालविवाहजस्ता समस्यालाई न्यूनीकरण गर्न सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डेले बालविवाहका कारण किशोरकिशोरीको स्वास्थ्य, शिक्षा, मानसिक अवस्था तथा भविष्यमा पर्ने नकारात्मक प्रभावबारे जानकारी गराउँदै बालविवाह अन्त्यका लागि परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारको संयुक्त पहल अपरिहार्य रहेको धारणा राख्नुभयो । ईलाका प्रहरी कार्यलय गुटुका कार्यलय प्रमुख बुद्ध सागर चौधरीले लागुऔंषध दुर्व्यसन र बालविवाह सामाजिक विकृति भएकाले यसलाई नियन्त्रण गर्न जनचेतना अभिवृद्धि, अभिभावकको जिम्मेवारी, युवाहरूको सक्रियता तथा सरोकारवाला निकायबीचको सहकार्य आवश्यक रहेको बताउनु भएको थियो । अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेका थिए ।



