- जेष्ठ १७, २०८३
- No Comment
- 5
कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने घरेलु उपाय के–के छन्?

बालबालिकामा कब्जियत एक सामान्य स्वास्थ्य समस्या भए पनि समयमै ध्यान नदिँदा यसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ। विशेषज्ञहरूका अनुसार असन्तुलित खानपान, जंकफुडको अत्यधिक सेवन र फाइबरयुक्त खानेकुराको कमी कब्जियतका प्रमुख कारण हुन्।
कब्जियत भएको कसरी थाहा पाउने?
चिकित्सकहरूका अनुसार कुनै बच्चाले हप्तामा दुई पटकभन्दा कम दिशा गर्छ, दिशा गर्न धेरै समय लगाउँछ, गोटा परेको जस्तो कडा दिसा गर्छ वा दिशा गरिसकेपछि पनि पेट पूर्ण रूपमा खाली नभएको महसुस गर्छ भने कब्जियत भएको हुन सक्छ।
यस्तै, दिशा गरिसकेपछि शौचालय जाम हुने, शौचालय प्रयोग गर्न सिकिसकेका बच्चाले पनि कपडामै दिशा गर्ने जस्ता व्यवहार देखिएमा कब्जियतको संकेत हुन सक्छ।
यी लक्षण देखिए तुरुन्त चिकित्सकको परामर्श आवश्यक
विशेषगरी ६ महिनाभन्दा कम उमेरका शिशुमा कब्जियत देखिएमा वा कब्जियतसँगै पेट फुल्ने, दिसामा रगत आउने, तौल नबढ्ने, बारम्बार छातीको संक्रमण हुने, बेहोस हुने वा शरीर काम्ने जस्ता समस्या देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्ने विज्ञहरू बताउँछन्।
कस्ता खानेकुराले कब्जियत गराउँछन्?
जंकफुडको अत्यधिक सेवन गर्ने र फाइबरयुक्त खानेकुरा कम खाने बालबालिकामा कब्जियतको समस्या बढी देखिन्छ। त्यसैले बालबालिकालाई चाउचाउ, चिप्स, प्रशोधित तथा तारेका खानेकुराको सट्टा फाइबरयुक्त आहार दिनुपर्ने चिकित्सकहरूको सुझाव छ।
फाइबर प्रशस्त मात्रामा पाइने खानेकुरामा गेडागुडी, सागसब्जी, फलफूल, केरा तथा आलुबखडा प्रमुख छन्। एक कचौरा गेडागुडीमा करिब ७ ग्राम फाइबर पाइने बताइन्छ।
दीर्घकालीन असर के हुन सक्छ?
लामो समयसम्म कब्जियत रहिरहेमा बालबालिकामा पिसाब सम्बन्धी समस्या तथा पिसाबको संक्रमणको जोखिम बढ्न सक्छ। साथै, पेट असहज हुने भएकाले बच्चाले पर्याप्त खाना नखाने र त्यसबाट कुपोषणको समस्या पनि निम्तिन सक्छ।
गम्भीर अवस्थामा आन्द्रा नै जाम हुने समस्या देखिन सक्छ, जसको उपचारका लागि शल्यक्रियासमेत गर्नुपर्ने अवस्था आउन सक्छ।
कब्जियत कम गर्ने घरेलु उपाय
विशेषज्ञहरूका अनुसार कब्जियत नियन्त्रणका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ। पर्याप्त मात्रामा फाइबरयुक्त खानेकुरा खाने, झोलिलो पदार्थ तथा पानी प्रशस्त पिउने र दुई वर्षपछि बालबालिकालाई नियमित रूपमा शौचालय प्रयोग गर्ने बानी बसाल्ने उपाय प्रभावकारी मानिन्छ।
स्वस्थ खानपान र नियमित जीवनशैली अपनाएमा अधिकांश बालबालिकामा कब्जियतको समस्या सहज रूपमा नियन्त्रण गर्न सकिने चिकित्सकहरू बताउँछन्।
-(डा अग्रवाल कान्ति बाल अस्पतालका बाल पेट तथा कलेजो रोग विशेषज्ञ )



