- पुस २१, २०८२
- No Comment
- 464
विद्यालयमा राजनीति प्रवेश : कुशे–२ को मान्नेढुङ्गा माविमा दलगत कार्यक्रमपछि चर्को आलोचना
जाजरकोट ।
कुशे गाउँपालिका–२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालय परिसरभित्र राजनीतिक गतिविधि सञ्चालन गरिएको तथ्य सार्वजनिक भएपछि स्थानीयस्तरमा चर्को आलोचना सुरु भएको छ। प्राप्त जानकारीअनुसार नेपाल कम्युनिस्ट पार्टीद्वारा विद्यालय परिसरमै राजनीतिक कार्यक्रम गरिएको हो, जुन प्रचलित शिक्षा ऐन तथा शैक्षिक आचारसंहिताको प्रत्यक्ष उल्लङ्घन भएको सरोकारवालाहरूको भनाइ छ।
विद्यालय ज्ञान, शिक्षा, अनुशासन र नैतिक मूल्य–मान्यताको केन्द्र मानिन्छ। यहाँ विद्यार्थीहरूलाई पठन–पाठन, सिर्जनशीलता र सकारात्मक सोचतर्फ अभिप्रेरित गरिनुपर्नेमा दलगत राजनीति प्रवेश गराइनु गैरजिम्मेवार र खतरनाक अभ्यास भएको स्थानीय बुद्धिजीवी तथा अभिभावकहरूले बताएका छन्।
शिक्षा ऐन र शैक्षिक आचारसंहिताअनुसार विद्यालय परिसरभित्र कुनै पनि प्रकारको राजनीतिक कार्यक्रम, प्रचार–प्रसार तथा दलगत गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ। तर स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै पनि विद्यालयलाई राजनीतिक गतिविधिको थलो बनाइनु गम्भीर प्रश्नको विषय बनेको छ।
शिक्षाविद्हरूका अनुसार यस्ता गतिविधिले विद्यार्थीहरूको मानसिकतामा राजनीतिक विभाजन, भ्रम र नकारात्मक प्रभाव पार्न सक्ने जोखिम रहन्छ। बालमस्तिष्कलाई राजनीतिक प्रभावमा पार्नु उनीहरूको भविष्यसँग प्रत्यक्ष खेलवाड भएको उनीहरूको निष्कर्ष छ।
“विद्यालय कुनै पनि राजनीतिक दलको अखडा होइन,” एक स्थानीय अभिभावकले भने, “चाहे त्यो नेपाल कम्युनिस्ट पार्टी होस्, समाजवादी वा अन्य कुनै दल—विद्यालयभित्र आफ्नो विचारधारा थोपर्ने अधिकार कसैलाई छैन।”
घटनापछि स्थानीयस्तरमा गम्भीर प्रश्नहरू उठेका छन्—
कसको अनुमति र संरक्षणमा विद्यालयभित्र राजनीतिक कार्यक्रम आयोजना गरियो ?
विद्यालय प्रशासन र स्थानीय तह किन मौन देखिए ?
यस घटनालाई लिएर सम्बन्धित निकाय, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारले गम्भीरतापूर्वक छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग उठेको छ। साथै विद्यालयलाई पूर्ण रूपमा राजनीति–मुक्त क्षेत्र घोषणा गरी यस्ता गतिविधि दोहोरिन नदिन कडा कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ।
विद्यार्थीको भविष्य सुरक्षित गर्न विद्यालयलाई राजनीति होइन—शिक्षाको मन्दिरका रूपमा जोगाउनु आजको अनिवार्य आवश्यकता बनेको छ।