- चैत्र ३, २०८२
- No Comment
- 2
सुर्खेतबाट हराएका एकै परिवारका तीन बालबालिका सकुशल फेला
वीरेन्द्रनगर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट हराएका एकै परिवारका तीन बालबालिका सकुशल अवस्थामा फेला परेका छन् ।
जिल्ला कालिकोट रास्कोट नगरपालिका–८ घर भई हाल वीरेन्द्रनगर–२, रेडियो नेपाल चोक नजिक कोठा भाडामा बस्दै आएका तुलराज न्यौपानेका तीन सन्तान सोमबार (चैत २ गते) विद्यालयबाट घर फर्कने क्रममा सम्पर्कविहीन भएका थिए ।
बालबालिका हराएको सूचना मंगलबार बिहान करिब ८ बजे प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईको कमाण्डमा १० जनाको टोली तत्काल खोजतलासका लागि खटिएको थियो ।
प्रहरीको सक्रिय खोजीका क्रममा बिहान करिब ९:३० बजे रेडियो नेपाल चोक नजिकै उनीहरूलाई बेवारिसे अवस्थामा फेला पारिएको सुर्खेत प्रहरीले जनाएको छ ।
फेला परेका बालबालिकामा ११ वर्षीया प्रतिक्षा न्यौपाने, ७ वर्षीय विवेक न्यौपाने र ५ वर्षीया कल्पना न्यौपाने रहेका छन् ।
हाल तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको महिला तथा बालबालिका सेवा केन्द्रमा राखी आवश्यक मनोपरामर्श प्रदान गरिएको छ । साथै अभिभावकलाई जानकारी गराइसकिएको र बालबालिकालाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले बालबालिका सकुशल फेला परेकाले अभिभावकलाई सतर्क रहन तथा बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन अनुरोध समेत गरेको छ ।