- कार्तिक २१, २०८२
- No Comment
- 117
जिप्रका सुर्खेतकाे हिरासतमा एक जना थुनुवाकाे मृत्यु
सुर्खेत — जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा एक थुनुवाको मृत्यु भएको छ। लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान ५ः५८ बजे ओछ्यानमै बेहोस अवस्थामा फेला परेका सुनारलाई तत्कालै उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृत्युपछि प्रहरी कार्यालयले हिरासत कक्षको सीसीटीभी फुटेज हेर्दा कुनै असामान्य गतिविधि नदेखिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढथापाका अनुसार, सुनार ७८ दिनदेखि हिरासतमा रहेका थिए र शुक्रबार नै उनको मुद्दाको पेसी तय भएको दिन थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।