- अशोज २७, २०८२
- No Comment
- 30
सामाखुसीमा सडक कुकुरको हत्या, चार जनाविरुद्ध उजुरी

काठमाडौं, २७ असोज — काठमाडौं महानगरपालिका–११ सामाखुसीमा सडक कुकुरलाई रड र ढुंगाले हानी हत्या गरिएको घटना सार्वजनिक भएको छ। घटनापछि पशु अधिकारकर्मीहरूले चार जनाविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका छन्।
शनिबार साँझ करिब ६ बजे सुप्रिम कलेज नजिक सुतिरहेको एक सडक कुकुरमाथि तीन–चार जना युवाले आक्रमण गरी निर्मम ढंगले हत्या गरेको आरोप लागेको हो। पशु अधिकारकर्मी इरफान खानले उक्त घटनाको सीसीटीभी फुटेज आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।
खानका अनुसार कुकुरले एक व्यक्तिलाई टोकेपछि रिसको आवेशमा युवाहरूले रड र ढुंगाले हानेर कुकुरको हत्या गरेका हुन्।
आईतबार खानसहित छ जनाले गोंगबु नयाँ बसपार्क प्रहरी प्रभागमा उजुरी दर्ता गराएका छन्। प्रहरी सहायक हवलदार भेषबहादुर सुनारले उजुरी दर्ता भइसकेको पुष्टि गर्दै सीसीटीभी फुटेजका आधारमा अभियुक्तहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाइने बताए।
नेपालको प्रचलित कानुनअनुसार, कुनै पनि पशुप्राणीमाथि क्रूर व्यवहार गर्ने वा हत्या गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।
पशु अधिकारकर्मीहरूले स्थानीयले अनुसन्धानमा सहयोग नगरेको गुनासो गरेका छन्। यद्यपि, एक महिलाले संलग्न दुई जनाको घर पहिचान गरेको बताइए पनि ती व्यक्तिहरू हालसम्म पक्राउ परेका छैनन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।