- अशोज २६, २०८२
- No Comment
- 31
हरेक काम जनतासँग जोडिएर गर्नुहोस् : मुख्यमन्त्री कँडेल

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हरेक काम जनतासँग जोडिएर गर्नुपर्ने बताएका छन्। उनले जनताको भावना, सुझाव र अपेक्षालाई प्राथमिकता दिएर अघि बढ्दा मात्र राजनीतिक दल र जनप्रतिनिधिको विश्वसनीयता बलियो हुने बताएका हुन्।
वीरेन्द्रनगरमा आज आयोजित नेकपा (एमाले) नगर कमिटी र निर्वाचित जनप्रतिनिधिसँगको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले “आफूलाई मात्र राम्रो लाग्ने होइन, जनताले समर्थन गर्ने र जनजीवनमा सकारात्मक प्रभाव पार्ने काममा ध्यान दिनुपर्छ,” भन्ने आग्रह गरे।
उनले सुरक्षित र स्थिर समाज निर्माणका लागि जनतासँगको सम्बन्ध सुमधुर र विश्वासिलो हुनुपर्ने उल्लेख गर्दै जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरूलाई वडास्तरमै सहकार्य बढाउन, असामान्य परिस्थिति अन्त्य गर्न र सर्वदलीय बैठकमार्फत साझा समस्या समाधान गर्न निर्देशन दिए।
मुख्यमन्त्री कँडेलले जनप्रतिनिधिलाई आफ्ना कामहरूको नियमित समीक्षा गर्न, गल्ती सुधार गर्न र सही अभ्यासलाई संस्थागत बनाउन पनि सुझाव दिएका छन्।