- अशोज १३, २०८२
- No Comment
- 51
कालिकोटको पचाल झरना गाउँपालिका: खेलकुद गतिविधि असुरक्षित मैदानमा सीमित

कालिकोट — पचाल झरना गाउँपालिकामा पर्याप्त भौतिक पूर्वाधारको अभावले खेलकुद गतिविधि सञ्चालन गर्न कठिनाइ भएको छ। खेलमैदान नसमथर, न मापदण्डअनुसार भएकाले स्थानीय स्तरका प्रतियोगिताहरू विद्यालयको असुरक्षित मैदानमा सञ्चालन गर्न बाध्य हुने अवस्था छ।
हालै दशैंको अवसरमा गाउँपालिका वडा नं ८ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको मैदानमा ‘प्रथम वडा स्तरीय फुटसल प्रतियोगिता’ आयोजना गरिएको छ। पालिकाभरका ९ टोली सहभागी भएको प्रतियोगिता विद्यालयकै साँघुरो मैदानमा खेलाइएको छ। मैदान न मापदण्डअनुसार छ, न त सुरक्षित, जसका कारण नियमअनुसार १५ खेलाडी (सब्स्टिच्युटसहित) दर्ता गर्नुपर्नेमा खेलाडीहरूलाई ६/६ जनाको टिम बनाएर खेल्न बाध्य पारिएको छ।
गाउँपालिकाले करिब १०० मिटर लामो र ३५ मिटर चौडा एक खेलमैदान निर्माण गरे पनि त्यो अझै प्रयोगयोग्य छैन। मैदान ढुंगाम्याटो मात्रै भएको र अन्य संरचना नबनाइएकाले त्यहाँ कुनै खेल प्रतियोगिता सञ्चालन हुन सकेको छैन। गाउँपालिकाभित्र अन्य वडामा पनि खेलमैदान निर्माणका कामहरू सुरु भए पनि अधिकांश अधुरै छन्।
पूर्वाधारको कमीले खेल गतिविधि असुरक्षित र असुविधाजनक वातावरणमा सञ्चालन गर्नुपरेको स्थानीयको गुनासो छ। फुटबल र फुटसलजस्ता खेल त विरलै आयोजना हुने गरेका छन् भने अन्य खेलकुद गतिविधिहरू पनि आधारभूत संरचना अभावकै कारण प्रभावित छन्।
खेलकुद विकासका लागि आवश्यक मैदान, समथर स्थल, दर्शकदीर्घा, शौचालय, बत्ती र सुरक्षात्मक व्यवस्थासहितका पूर्वाधार तत्कालै निर्माण गर्नुपर्ने माग स्थानीय क्लब तथा सरोकारवालाले उठाएका छन्।
अब सरकार र सम्बन्धित निकायले गाउँस्तरमै खेल पूर्वाधारको विकासमा ध्यान नदिएसम्म खेलाडीहरूको क्षमता दविइरहने चेतावनी सरोकारवालाले दिएका छन्।