- अशोज ४, २०८२
- No Comment
- 79
विहान छिट्टै उठ्न गाह्रो भइरहेको छ ? उपाय यसरी अपनाउनुहोस्

एजेन्सी । बिहान सबेरै उठ्न नसक्ने समस्या धेरैको साझा चिन्ता बनेको छ। कामको थकाइ, मानसिक तनाव र अनिद्राले गर्दा धेरैलाई बिहान समयमै उठ्न कठिन हुन्छ। राति सुत्दा बिहान उठेर गर्ने योजना बनाए पनि अलार्म बज्दा ओछ्यानमै अड्किनुपर्ने अवस्था आउने गरेको पाइन्छ।
विशेषज्ञहरूका अनुसार बिहान छिट्टै उठ्नका लागि राति नै तयारी गर्ने बानी बसाल्नु आवश्यक हुन्छ। सुत्नुअघि भोलिपल्टको कामबारे मनन गर्दा बिहान उठ्न सहज हुन्छ। अलार्म बज्नेबित्तिकै ओछ्यान छाड्ने बानी बनाउन सक्नुपर्छ, किनकि अलार्म पन्छाएर फेरि सुत्दा शरीरले ढिलो उठ्ने बानी विकास गर्छ।
राति सुत्ने बेलामा चिया वा कफी सेवन नगर्नुपर्ने सुझाव दिइएको छ, किनभने क्याफिनले निन्द्रामा बाधा पुर्याउँछ र बिहान ढिलो उठ्ने सम्भावना बढाउँछ। त्यस्तै, सुत्नुअघि लामो समय टिभी, मोबाइल वा ल्यापटप प्रयोग गर्दा पनि निन्द्राको गुणस्तर खस्कने भएकाले बिहान उठ्न गाह्रो पर्छ।
स्वास्थ्य विशेषज्ञहरूले निश्चित समयमा सुत्ने तालिका बनाउन जोड दिएका छन्। नियमित र समयमै सुत्ने बानी बसाल्दा बिहान छिट्टै उठ्ने समस्या समाधान हुने उनीहरूको भनाइ छ।