काठमाडौं – सर्वोच्च अदालतले सौतेनी आमाले आर्जन गरेको वा माइती/मावलीबाट प्राप्त गरेको सम्पत्तिमा पनि सौतेनी छोराको समान अंशको हक लाग्ने ठहर गरेको छ।
न्यायाधीशहरू डा. नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले अंशबन्डा सम्बन्धी मुद्दामा ‘आमा’ शब्दले सौतेनी आमासमेतलाई र ‘छोरा’ शब्दले सौतेनी छोरासमेतलाई समेट्ने व्याख्या गर्दै यस्तो फैसला गरेको हो। अदालतले यसअघि कायम नजिर उद्धृत गर्दै बाबुआमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीका लागि पैत्रिकसरह हुने स्पष्ट पारेको छ।
शशि पराजुली उप्रेतीविरुद्ध राहुल पराजुली र तुलसा बस्नेतले दायर गरेको अंशचलन मुद्दामा सर्वोच्चले काठमाडौं जिल्ला अदालत र उच्च अदालतको फैसला सदर गरेको हो। २०८१ चैत २१ गतेको फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक भएको हो।
मुद्दामा नवराज पराजुलीले जेठी पत्नी तुलसाबाट जन्मेका छोरा राहुललाई अस्वीकार गर्दै डीएनए परीक्षणको माग गरेका थिए। तर, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र र प्रत्यक्ष साक्षीको आधारमा सर्वोच्चले राहुललाई नवराजकै छोरा ठहर गर्दै अंशमा हकदार हुने निर्णय गर्यो। अदालतले डीएनए परीक्षण अनिवार्य प्रमाण नभई अन्य प्रमाण पर्याप्त भएमा आवश्यक नपर्ने स्पष्ट पारेको छ।
फैसला अनुसार नवराजकी जेठी पत्नी तुलसा, कान्छी पत्नी शशि, तुलसाबाट जन्मेका राहुल र शशिबाट जन्मेका तीन छोरासहित सम्पत्तिमा ७ भाग बराबरको २ भाग अंश पाउने व्यवस्था गरिएको छ। साथै, शशि पराजुलीले आमाबाट बकसस्वरूप पाएको जग्गा पनि पैत्रिक सम्पत्तिसरह बन्डा लाग्ने ठहर गरिएको छ।
सर्वोच्चले ठहर गरेको छ – “बाबुआमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्ति छोराछोरी र श्रीमतीका लागि पैत्रिक मानिनुपर्छ, त्यसैले सौतेनी आमाको सम्पत्तिमा पनि सौतेनी छोराको हक लाग्छ।”
काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…