- भदौ २, २०८२
- No Comment
- 79
कर्णालीका ३५ प्रतिशत महिला अझै घरमै सुत्केरी

सुर्खेत – कर्णाली प्रदेशमा अझै पनि ठूलो संख्यामा महिलाले असुरक्षित तरिकाले घरमै बच्चा जन्माउने गरेका छन्। सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्रदेशका ३५ प्रतिशत महिला स्वास्थ्य संस्थाको पहुँचबाहिरै घरमै सुत्केरी हुने गरेका हुन्।
मन्त्री घनश्याम भण्डारीले सार्वजनिक गरेको प्रतिवेदनमा असुरक्षित सुत्केरीका कारण मातृ मृत्युदर उच्च रहेको उल्लेख छ। हाल प्रदेशमा प्रतिलाखमा १७२ आमा मृत्यु हुने गरेका छन्। आमा र शिशु दुवैका लागि यो गम्भीर जोखिम रहेको भन्दै सरकारले ‘घरमा सुत्केरी शून्य’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यसका लागि यस वर्ष ४५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
कर्णालीमा ३७.९ प्रतिशत महिलाले १८–२० वर्षमै विवाह गर्ने गरेका छन्। कानुनले २० वर्ष नपुगी विवाहलाई गैरकानुनी माने पनि बालविवाह अझै व्यापक छ। यसले मातृ मृत्युदर, गर्भपतन र नवजात शिशु मृत्युदर बढाउने मन्त्रालयको निष्कर्ष छ। प्रदेशमा बाल मृत्युदर प्रतिहजार जीवित जन्ममा ३८ रहेको तथ्याङ्क सार्वजनिक भएको छ।
प्रदेशमा महिलाको जनसंख्या ५१.२१ प्रतिशत भए पनि मात्र १२.५ प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा रहेको छ। अधिकांश महिला अनौपचारिक क्षेत्रमा सीमित छन्। मन्त्रालयका अनुसार ८२ प्रतिशत महिला कृषि क्षेत्रमै संलग्न छन्।
महिला उद्यमीलाई प्रोत्साहन गर्न सरकारले गत वर्ष १० जना उत्कृष्ट उद्यमीलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिएको थियो। यस वर्ष पनि ६० महिला उद्यमीलाई प्रविधि सहयोग प्रदान गरिएको छ।
कर्णालीमा महिला साक्षरता दर ६९.४ प्रतिशत छ। यसलाई बढाउन सरकारले छोरी–बुहारी छात्रवृत्ति र प्राविधिक शिक्षा साझेदारी कार्यक्रम सञ्चालन गरिरहेको छ। यसका लागि चालु वर्षमा ९७ लाख ५० हजार रुपैयाँ र ४० लाख रुपैयाँ छुट्ट्याइएको छ।
लैङ्गिक हिंसा न्यूनीकरणका लागि सुर्खेत, दैलेख र कालिकोटमा ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’ सञ्चालनमा छन्। आर्थिक वर्ष २०८१/८२ मा मात्रै १५०० भन्दा बढी हिंसा प्रभावितले सेवा पाएका छन्।
मन्त्री भण्डारीका अनुसार लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७८ लाई प्रभावकारी बनाउन थप कार्यक्रम अघि सारिएको छ।