- साउन २७, २०८२
- No Comment
- 133
विकास बजेटमा व्यक्तिगत दाबी नगर्नुहोस् : मुख्यमन्त्री कँडेल

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गाउँमा आउने विकास बजेटलाई व्यक्तिगत उपलब्धि जस्तो देखाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्।
मंगलबार चौकुने गाउँपालिका–६ मा नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उनले भने, “संघीय, प्रदेश, पालिका र वडाको बजेट हामी सबैले तिरेको करको हो, यो कसैको व्यक्तिगत सम्पत्ति होइन।” उनका अनुसार “मै ल्याएको हो”, “मेरो योजना हो” भन्ने दाबी गर्ने र जनताले त्यस्तो विश्वास गर्ने संस्कार विकासका लागि घातक बनेको छ।
मुख्यमन्त्री कँडेलले योजना पार्ने बेला सबै सक्रिय देखिने तर योजना स्वीकृत भएपछि बेवास्ता गर्ने प्रवृत्तिले विकासको गति सुस्त भएको बताए। “हाम्रो लागि आएको योजना हो भनेर बुझ्न सके मात्रै आयोजना दिगो हुन्छ,” उनले जोड दिए।
भवन उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यसअघि मुख्यमन्त्री कँडेलले निर्माणाधीन लखरपाटा–खम्बागाडे–मुरमुरी–जामु–सुनकाँडा सडकको निरीक्षणसमेत गरे। उनले ठेकेदारलाई समयमै काम सम्पन्न गर्न र स्थानीयलाई सडक निर्माणमा आवश्यक सहयोग र सहजीकरण गर्न आग्रह गरेका छन ।