- बैशाख ३, २०८२
- No Comment
- 119
काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का

काठमाडौँ । आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरूमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ः०५ बजे ५ म्याग्निच्युडको भूकम्प गएको हो, जसको केन्द्रविन्दु चीनको डिङ्जे क्षेत्रमा, नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा रहेको जनाइएको छ।
यसअघि पनि पछिल्ला दिनमा देशका विभिन्न भागहरू, विशेषगरी जाजरकोट जिल्लामा भूकम्पीय गतिविधि सक्रिय देखिएको छ। मंगलबार बिहान ४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिका–५ स्थित पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
यसैगरी, सोमबार राति ९ः३१ बजे सोही स्थानमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। यद्यपि, यी भूकम्पहरूले मानवीय वा भौतिक क्षति पुर्याएको विवरण प्राप्त भइसकेको छैन।
राष्ट्रिय केन्द्रका अनुसार चैत २१ गते साँझ ८ः०७ र ८ः१० बजे जाजरकोटको पैंकलाई केन्द्रविन्दु बनाएर क्रमशः ५.२ र ५.५ म्याग्निच्युडका दुई भूकम्प गएका थिए। ती भूकम्पहरूले केही घरमा सामान्य क्षति पुर्याएको उल्लेख गरिएको छ।
त्यसअघि, चैत २० गते दार्चुला जिल्लामा ४ म्याग्निच्युड र चैत १२ गते हुम्लामा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो।



