- असार ८, २०८३
- No Comment
- 14
पञ्चपुरी नगरपालिका –३ तोक्मामा बालबालिका हाजिरीजवाफ तथा आपाङ्ग सम्मान कार्यक्रम सम्पन्न

पञ्चपुरी नगरपालिका वडा नं. ३, तोक्माको आयोजनामा तथा पञ्चपुरी नगरपालिकाको कार्यालय, बाबियाचौर, सुर्खेतको समन्वयमा आर्थिक वर्ष २०८३ अन्तर्गत दुईदिने “आपाङ्ग सम्मान तथा हाजिरजवाफ कार्यक्रम” सम्पन्न भएको छ।
वडा नं. ३ का वडा अध्यक्ष बल बहादुर रोकायको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य सुरज कार्की विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय तोक्मा, भैरव प्राथमिक विद्यालय चौर, पौरखी प्राथमिक विद्यालय लगम तथा सुन्दरजन जागरण प्राथमिक विद्यालय लामीदमारका प्रधानाध्यापकहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूप्रति सम्मान अभिवृद्धि गर्नु, उनीहरूको अधिकार र अवसरप्रतिको सचेतना बढाउनु तथा समावेशी समाज निर्माणमा सबै पक्षको सहभागिता सुनिश्चित गर्नु रहेको थियो। सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिन्न सदस्य भएकाले उनीहरूलाई समान अवसर र सम्मान प्रदान गर्नु सबैको साझा दायित्व भएको बताएका थिए। कार्यक्रमअन्तर्गत विद्यार्थीहरूबीच हाजिरजवाफ प्रतियोगिता समेत सञ्चालन गरिएको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले शिक्षा, स्वास्थ्य, समसामयिक विषयवस्तु तथा सामान्य ज्ञानसँग सम्बन्धित प्रश्नहरूको उत्साहपूर्ण ढंगले उत्तर दिएका थिए। प्रतियोगिताले विद्यार्थीहरूमा अध्ययनप्रति रुचि बढाउनुका साथै बौद्धिक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावनाको विकासमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको भनाइ थियो।प्रमुख अतिथि बल बहादुर रोकायले अपाङ्गता भएका व्यक्तिहरूको सम्मान र अधिकार संरक्षणमा स्थानीय सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले सामाजिक सद्भाव र समावेशी विकासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। विशेष अतिथि सुरज कार्कीले शिक्षा र चेतनामूलक कार्यक्रमसँगै हाजिरजवाफ जस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा र प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने धारणा राख्नुभयो। कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापकहरूले विद्यालय तहदेखि नै समावेशी शिक्षा र सामाजिक उत्तरदायित्वका विषयमा विद्यार्थीहरूलाई सचेत बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले यस्ता सम्मान तथा बौद्धिक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रम आपसी सद्भाव, सम्मान र समावेशी समाज निर्माणको सन्देश प्रवाह गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ भने कार्यक्रम संचालन वडा सचिव अमृत कुमारी पोखरेलले गर्नु भएको थियो



