- असार ७, २०८३
- No Comment
- 8
नेसनल प्याब्सन चित्रकला प्रतियोगिता: राइजिङ स्टार प्रथम, सुर्खेतका १० विद्यालय केन्द्रीय प्रतिस्पर्धाका लागि छनोट

सुर्खेत। नेसनल प्राइभेट एण्ड बोर्डिङ स्कुल्स एशोसिएशन नेपाल (नेसनल प्याब्सन) जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा जिल्ला स्तरीय अन्तर-विद्यालय चित्रकला प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
सबै निजी तथा आवासीय विद्यालयहरू एकजुट होऔं भन्ने मूल नाराका साथ सुर्खेतको सुभा होटलमा आयोजित उक्त प्रतियोगितामा राइजिङ स्टार प्रथम हुन सफल भएको छ। त्यसैगरी, तीव्र प्रतिस्पर्धाका बीच हार्भेष्ट मुन ले द्वितीय र मध्यपश्चिम ले तृतीय स्थान हासिल गरेका छन्।
यस प्रतियोगितामा उत्कृष्ट कला प्रस्तुत गर्दै जिल्लाबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यालय लगायत कुल १० वटा विद्यालयहरू केन्द्रीय तहको प्रतिस्पर्धाका लागि छनोट भएका छन्। निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा र रचनात्मक क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
जिल्लास्तरबाट छानिएका यी विद्यालयहरूले अब केन्द्रमा सुर्खेत जिल्लाको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन्। यस गौरवमय उपलब्धिप्रति नेसनल प्याब्सन जिल्ला कार्यसमिति सुर्खेत ले सम्पूर्ण विजयी विद्यार्थी तथा छनोट भएका विद्यालयहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै केन्द्रीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि पूर्ण सफलताको शुभकामना व्यक्त गरेको छ।



