- जेष्ठ २४, २०८३
- No Comment
- 15
रास्वपाको अधिवेशनका लागि संसद् स्थगित गरिएको भन्दै राप्रपा सांसद खुस्बु ओलीको आपत्ति

राप्रपा सांसद खुस्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अधिवेशनलाई सहज बनाउन संसद् बैठक स्थगित गरिएको भन्दै गम्भीर आपत्ति जनाएकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सदनको गतिरोध अन्त्य गर्ने र राजनीतिक सहमति खोज्ने उद्देश्य नै नभई लामो समयसम्म बैठक स्थगित गर्नुको औचित्यमाथि प्रश्न उठाएकी हुन्।
संसद् स्थगित भएको पाँच दिन बितिसक्दा पनि संवाद र समाधानका लागि कुनै पहल नभएको ओलीले बताएकी छन्। भोलिदेखि संसद् बैठक बस्न लागे पनि कुनै उपलब्धिविना पुनः उही गतिरोधकै अवस्थाबाट सदन सञ्चालन हुने संकेत देखिएको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन्।
प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा प्रतिपक्षी र सत्तारुढ दलका सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरूलाई बेवास्ता गरिएकाले नै सदन अवरुद्ध भएको उनको दाबी छ। यसका साथै प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले संसदीय वातावरणमा थप गम्भीर प्रश्नहरू खडा गरेको उनले उल्लेख गरेकी छन्।
प्रतिपक्षी दलहरूले राष्ट्रिय हित, संसदीय सार्वभौमिकता र जनप्रतिनिधिको उत्तरदायित्वका लागि निरन्तर संवाद र जवाफदेहिताको माग गर्दै आएका छन्। तर, पछिल्ला पाँच दिनमा संवादका लागि कुनै पनि औपचारिक आह्वान वा सहमति खोज्ने प्रयास नभएको ओलीले जानकारी दिएकी छन्।
संसद्को लामो स्थगनले राष्ट्रिय मुद्दाभन्दा दलगत आवश्यकतालाई प्राथमिकता दिइएको आशंका उत्पन्न गराएको उनको आरोप छ। यो बीचमा संसद् नै रोकेर राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशनका लागि सहज वातावरण बनाइदिएको ओलीले दाबी गरेकी छन्।
नेपालको सार्वभौम संसद् कुनै दल वा व्यक्तिको सुविधाका लागि नभई जनताको सार्वभौम इच्छाको प्रतिनिधित्व गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था भएको उनले स्पष्ट पारेकी छन्। लोकतान्त्रिक मूल्य र संसदीय मर्यादाको संरक्षणका लागि यस्ता गम्भीर विषयमा संघीय संसद् सचिवालयले विशेष ध्यान दिनुपर्ने माग समेत उनले गरेकी छन्।



