- जेष्ठ २४, २०८३
- No Comment
- 15
नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय द्विपक्षीय भेटवार्ता सम्पन्न

परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच शनिवार साँझ नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। विदेशमन्त्री जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्मका लागि भारतको औपचारिक भ्रमणमा गएका हुन्। भेटका क्रममा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा विस्तृत छलफल भएको छ।
भेटवार्ताका क्रममा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री वालेन्द्र शाह, नेपाल सरकार र नेपाली जनताको तर्फबाट भारत सरकार र त्यहाँका जनतालाई अभिवादन व्यक्त गरे। नेपालको नयाँ सरकारले सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिका लागि स्पष्ट जनादेश बोकेको उल्लेख गर्दै मन्त्री खनालले आफूहरूसँग नजिकको छिमेकीसँग रूपान्तरणकारी सम्बन्ध निर्माण गर्ने दृढ सङ्कल्प रहेको बताए।
मन्त्री खनालले नेपाल र भारत केवल दुई देश मात्र नभई एक गौरवशाली प्राचीन सभ्यताका साझेदार भएको उल्लेख गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालै गरेको भारतको उच्चस्तरीय भ्रमणको स्मरण गर्दै यस सभ्यतागत सम्बन्धलाई आधुनिक विकासमुखी साझेदारीमा रूपान्तरण गर्न चाहेको स्पष्ट पारे। नेपालले भारतसँगको सम्बन्धलाई उच्चतम प्राथमिकता दिएको उनको भनाइ थियो।
कठिन समयमा भारतले पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री खनालले पश्चिम एसिया सङ्कटको बेला पनि इन्धन र मल आपूर्तिमा भारतले सधैँ साथ दिएको बताए। यो उत्पादनशील र स्पष्ट छलफलले आगामी उच्चस्तरीय भ्रमणहरूको लागि आधार तयार पार्ने र द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत गर्ने अपेक्षा उनले राखे।
यसैगरी भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल र भारतबीच अत्यन्त विशेष सम्बन्ध रहेको पुनर्पुष्टि गरे। यो सम्बन्ध आपसी विश्वास, सद्भाव, जीवन्त जनस्तरको सम्बन्ध र साझा सांस्कृतिक परम्पराको बलियो आधारमा निर्मित भएको उनको भनाइ थियो। उनले व्यापार, ऊर्जा र विकास सहकार्यका साथै स्टार्टअप, कृत्रिम बौद्धिकता र सूचना प्रविधिका नयाँ क्षेत्रमा पनि सहकार्यको अवसर रहेको औंल्याए।
विदेशमन्त्री जयशङ्करले खुला सीमामा सुरक्षा कायम राख्न दुवै देशले नजिकबाट सहकार्य गरिरहेको र संकटको समयमा नेपाललाई अविरल इन्धन आपूर्ति सुनिश्चित गरिएको बताए। रास्वपा सभापति रवि लामिछानेको हालैको भ्रमणले दुई देशको सम्बन्धको महत्त्वलाई स्पष्ट पारेको उनले उल्लेख गरे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग दुवै देशको कल्याणका लागि मिलेर काम गर्ने प्रतिबद्धता दोहोर्याएको जानकारी समेत उनले दिए।
भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले शुक्रबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग भेटवार्ता गर्नुका साथै इण्डिया फाउण्डेसनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए। यसअघि गत अप्रिलमा मौरिससमा भएको इन्डियन ओसियन सम्मेलनको साइडलाइनमा पनि दुई मन्त्रीबीच भेट भएको थियो। मन्त्री खनाल यही जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।



