- जेष्ठ २४, २०८३
- No Comment
- 27
अछाममा जीप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

कमलबजार (अछाम) । अछामको कमलबजार नगरपालिका–७ कवालेखस्थित भित्री कच्ची सडक खण्डमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार शनिबार राति राति करिब ९ बजे मंगलसेनबाट कवालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरीक्षक सरोजकुमार कैलाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मंगलसेन पठाइएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका कमलबजार नगरपालिका–७ निवासी ३४ वर्षीय कर्ण भाटको उपचारका क्रममा राति १२:१५ बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका छन्।
दुर्घटनामा घाइते भएका मृतकका १३ वर्षीय छोरा मीनबहादुर भाट र सोही ठाउँका ३० वर्षीय बद्री भाटलाई जिल्ला अस्पताल मंगलसेनमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अछा ले जनाएको छ।
दुर्घटनालगत्तै फरार भएका चालक अछामको तुर्माखाँद गाउँपालिका–३ निवासी २६ वर्षीय पुष्प बुढालाई प्रहरीले खोजतलासका क्रममा नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा लुकेर बसेको अवस्थामा उनलाई मध्यराति पक्राउ गरिएको हो।
चालक बुढाको स्वास्थ्य अवस्था सामान्य रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।



