- जेष्ठ २४, २०८३
- No Comment
- 19
थाइराइड के हो? किन हुन्छ? पुरुषको तुलनामा महिलामा किन बढी?

काठमाडौं । थाइराइड मानव शरीरको घाँटीको बीच भागमा रहेको पुतली आकारको एक महत्त्वपूर्ण ग्रन्थी हो। यसले शरीरका विभिन्न जैविक क्रियाकलापलाई नियन्त्रण गर्ने टी–थ्री (T3) र टी–फोर (T4) हर्मोन उत्पादन गर्छ। यी हर्मोनको मात्रा असन्तुलित हुँदा थाइराइडसम्बन्धी समस्या देखिने चिकित्सकहरू बताउँछन्।
एन्डोक्राइनोलोजिस्ट डा. दीपक मल्लका अनुसार थाइराइड ग्रन्थी आफैं सक्रिय हुँदैन। मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीबाट निस्कने टीएसएच (TSH) हर्मोनले थाइराइडलाई सक्रिय बनाएर टी–थ्री र टी–फोर उत्पादन गराउँछ। यी हर्मोनले शरीरको ऊर्जा उत्पादन, तापक्रम नियन्त्रण, मुटुको गति तथा अन्य महत्वपूर्ण कार्य सञ्चालन गर्छन्।
किन हुन्छ थाइराइडको समस्या?
थाइराइड रोगको मुख्य कारणमध्ये ‘अटो इम्युन’ समस्या प्रमुख मानिन्छ। शरीरमा उत्पन्न हुने केही एन्टिबडीहरूले थाइराइड ग्रन्थीलाई असर गर्दा हर्मोनको उत्पादन असामान्य रूपमा बढ्न वा घट्न सक्छ।
थाइराइड ग्रन्थीमा असर परेपछि दुई प्रकारका समस्या देखिन्छन्– हाइपोथाइराइडिज्म (हर्मोन कम उत्पादन हुने) र हाइपरथाइराइडिज्म (हर्मोन बढी उत्पादन हुने)।
थाइराइडका लक्षण
हाइपोथाइराइडिज्म भएका व्यक्तिमा शरीर सुस्त हुने, अनावश्यक रूपमा तौल बढ्ने, छाला सुख्खा हुने, कब्जियत हुने तथा महिलामा गर्भधारण गर्न कठिनाइ हुनेजस्ता लक्षण देखिन सक्छन्।
त्यसैगरी, हाइपरथाइराइडिज्म भएका व्यक्तिमा धेरै खाना खाँदा पनि तौल घट्दै जाने, हातखुट्टा पसिना आउने, मुटुको धड्कन बढ्ने, आँखा बाहिर निस्किएजस्तो देखिने तथा गलगाँड आउने समस्या हुन सक्छ।
महिलामा किन बढी देखिन्छ?
डा. मल्लका अनुसार थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्छ। तर पुरुषको तुलनामा महिलामा यसको समस्या धेरै देखिन्छ।
उनका अनुसार महिलाको शरीर हर्मोनको मामिलामा बढी संवेदनशील हुने भएकाले थाइराइड हर्मोनमा सानो परिवर्तन हुँदा पनि असर देखिन थाल्छ। पुरुषमा हर्मोनको मात्रा केही तलमाथि हुँदा खासै प्रभाव नपरे पनि महिलामा सानो असन्तुलनले समेत स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
अन्य रोगसँग सम्बन्ध
थाइराइडको प्रत्यक्ष सम्बन्ध मधुमेह वा अन्य नसर्ने रोगसँग नभए पनि थाइराइड भएका व्यक्तिमा मधुमेह हुने सम्भावना बढी रहने चिकित्सकहरूको भनाइ छ। विशेषगरी हाइपोथाइराइडिज्मका कारण मोटोपन बढ्न सक्ने भएकाले त्यसले मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल बढाउने जोखिम बढाउँछ।
खानपानमा के सावधानी अपनाउने?
थाइराइड रोग खानेकुराका कारण मात्र हुने समस्या होइन। समाजमा बन्दाकोबी, काउली लगायतका तरकारी खान नहुने भन्ने धारणा भए पनि चिकित्सकहरू त्यसलाई गलत मान्छन्। उनीहरूका अनुसार यस्ता खानेकुरा सीमित मात्रामा सेवन गर्न सकिन्छ।
यद्यपि, समुद्री खानेकुरामा आयोडिनको मात्रा बढी हुने भएकाले केही अवस्थामा चिकित्सकको सल्लाहअनुसार सेवनमा सावधानी अपनाउन सकिन्छ। साथै, चिल्लो पदार्थ कम खाने, नियमित व्यायाम गर्ने र तौल नियन्त्रणमा राख्ने बानी आवश्यक रहेको डा. मल्ल बताउँछन्।
गर्भावस्थामा विशेष ध्यान
चिकित्सकहरूका अनुसार प्रत्येक गर्भवती महिलाले थाइराइड परीक्षण गराउनुपर्छ। विशेषगरी पहिलेदेखि थाइराइडको समस्या भएकाहरूले थप सतर्कता अपनाउनुपर्ने हुन्छ।
हाइपोथाइराइडिज्म भएका गर्भवतीले चिकित्सकको सल्लाहबिना औषधि बन्द गर्नु हुँदैन। औषधि छाड्दा गर्भपतनको जोखिम बढ्न सक्छ। शिशु जन्मिएपछि ७२ घण्टाभित्र थाइराइड परीक्षण गराउन पनि चिकित्सकहरूले सुझाव दिएका छन्।
थाइराइडको उपचार सम्भव छ?
डा. मल्लका अनुसार थाइराइडको प्रभावकारी उपचार उपलब्ध छ। हर्मोन कम भए आवश्यक हर्मोन दिइन्छ भने बढी भए उत्पादन नियन्त्रण गर्ने औषधि प्रयोग गरिन्छ।
उनले चिकित्सकको सल्लाहबिना थाइराइडको औषधि सेवन नगर्न आग्रह गर्दै नियमित परीक्षण र उपचारबाट अधिकांश बिरामीले सामान्य जीवनयापन गर्न सक्ने बताए।
(इन्डोक्राइनोलोजिस्ट डा मल्ल वीर अस्पतालमा कार्यरत छन्।)



