• जेष्ठ १७, २०८३
  • No Comment
  • 0

सबैको सामूहिक प्रयासबाट मात्र कर्णालीको समृद्धि सम्भव : मुख्यमन्त्री कँडेल

सुर्खेत, जेठ ३१ — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवाला सबै पक्षको सामूहिक प्रयासबाट मात्र कर्णालीको समृद्धि सम्भव हुने बताएका छन्।

कर्णाली प्रदेश योजना आयोगद्वारा सुर्खेतमा आयोजित कर्णाली प्रदेश विकास परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन साझा बुझाइ, समन्वय र सहकार्य अपरिहार्य रहेको बताए।

उनले एकल प्रयासबाट विकास सम्भव नहुने उल्लेख गर्दै सबै तहका सरकार र सरोकारवालाले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए। विकासका विषयमा खुला छलफल र साझा धारणा निर्माण गर्न सके समस्या समाधान गर्न सहज हुने उनको भनाइ थियो।

मुख्यमन्त्री कँडेलले योजना तथा कार्यक्रमहरू जनताको आवश्यकता र चाहनाअनुसार निर्माण हुनुपर्ने बताउँदै प्रत्यक्ष रूपमा जनजीवन सुधार गर्ने र नागरिकलाई लाभ पुग्ने योजनालाई प्राथमिकता दिन आग्रह गरे। “योजना जनताका लागि हो, जनतालाई खुसी बनाउने र उनीहरूको आवश्यकता पूरा गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ,” उनले भने।

बजेट विनियोजन गर्दा विकास र समृद्धिलाई केन्द्रमा राखेर प्राथमिकता निर्धारण गर्नुपर्ने बताउँदै उनले सरकारहरू खर्चमुखी मात्रै नभई आम्दानी वृद्धि गर्ने कार्यक्रमतर्फ पनि केन्द्रित हुनुपर्ने धारणा राखे। उत्पादन, रोजगारी सिर्जना र राजस्व वृद्धि गर्ने योजनामा विशेष जोड दिनुपर्ने उनको भनाइ थियो।

संविधानले तीन तहका सरकारको अधिकार र कार्यक्षेत्र स्पष्ट रूपमा निर्धारण गरिसकेको उल्लेख गर्दै उनले सोहीअनुसार जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए। कतिपय स्थानीय तहमा योग्यताभन्दा अनुकूलताका आधारमा कर्मचारी छनोट गर्ने प्रवृत्ति देखिएको भन्दै यसले सुशासन र सेवा प्रवाहमा असर पार्ने चेतावनी दिए।

मुख्यमन्त्री कँडेलले स्थानीय तहका अभिलेख व्यवस्थापन अझै प्रभावकारी हुन नसकेको उल्लेख गर्दै अभिलेखीकरणलाई व्यवस्थित बनाउन आग्रह गरे। प्रदेश र स्थानीय तहबीचको सम्बन्ध थप सुदृढ बनाउन प्रत्येक पालिकामा ‘योजना बैंक’ निर्माण गर्ने कार्यमा प्रदेश सरकारले प्राविधिक सहयोग उपलब्ध गराउने जानकारी पनि उनले दिए।

उनले अध्ययन, अनुसन्धान र तथ्यका आधारमा योजना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै बजेट वितरण प्रणाली र शासन शैलीमा सुधार आवश्यक रहेको बताए। समाजमा निराशा फैलाउने प्रवृत्ति बढ्दै गएको भन्दै विकासका सकारात्मक उपलब्धिलाई पनि उजागर गर्नुपर्ने उनको भनाइ थियो।

प्रदेश सरकारले निर्णय गर्दा कुनै व्यक्ति, पार्टी वा आफन्तलाई आधार नबनाउने स्पष्ट पार्दै मुख्यमन्त्री कँडेलले स्थानीय तहलाई योजना निर्माण प्रक्रियामा प्रदेशसभा सदस्यहरूलाई समेत सहभागी गराउन आग्रह गरे।

उनले हालसम्म धेरै कार्यालयले अध्ययन सम्पन्न भएका योजनाहरू पेश नगरेको भन्दै अधुरा तथा अपुरा योजनाको अन्त्य गर्नुपर्नेमा जोड दिए। राजनीतिक रूपमा संघीयता कार्यान्वयन भए पनि प्रशासनिक संघीयताको अभ्यास अझै प्रभावकारी हुन नसकेको उल्लेख गर्दै उनले लोकतन्त्र, संविधान र संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सबै तहका सरकार जिम्मेवार बन्नुपर्ने बताए।

सम्बन्धित खबर

लागुऔंषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

लागुऔंषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकामा लागुऔंषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कर्णाली जागरण केन्द्रको आयोजना, अष्ट्रेलियन एडको…
लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा उच्च उचाइका कारण हुने ‘हाइअल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) बाट चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ९…
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ — देशभर आज चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *