- जेष्ठ ६, २०८३
- No Comment
- 5
हुम्लाको नेप्का गाउँमा पहिरो: विद्यालयसहित खेतीयोग्य जमिनमा क्षति

नेप्का गाउँ — हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा बुधबार बिहान आएको पहिरोले विद्यालय, गोठ, भेडाबाख्रा तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याएको छ।
स्थानीयका अनुसार असिना–पानी परेपछि आएको पहिरोले गाउँको डाँफे आधारभूत विद्यालय बगाएको छ भने पाक्न लागेको गहुँ, जौ, उवा लगायतका बालीसहित खेतीयोग्य जमिन तहसनहस भएको छ।
वडा अध्यक्ष हर्कधन तामाङ का अनुसार बाढीसँगै आएको पहिरोले केही गोठ पुरिएका छन् भने भेडाबाख्रामा पनि क्षति पुगेको छ। हालसम्म मानवीय क्षतिको खबर भने आएको छैन।
स्थानीय छक्कबहादुर तामाङ का अनुसार वडा अध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पहिरोले पुरिएको छ। “कति भेडाबाख्रा पुरिए भन्ने यकिन भइसकेको छैन,” उनले बताए।
जिल्ला प्रशासन कार्यालय हुम्ला का प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी ले घटनाको जानकारी पाएलगत्तै मेल्छाम प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको बताए। उनले नेप्का गाउँ दुर्गम क्षेत्रमा पर्ने र सडक सञ्जालमा नजोडिएकाले उद्धार तथा क्षतिको विवरण संकलनमा कठिनाइ भइरहेको जानकारी दिए।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय हुम्ला का प्रहरी नायव उपरीक्षक शंकर खड्का ले जोखिमपूर्ण बाटोका कारण सुरक्षाकर्मीलाई घटनास्थल पुग्न समय लागेको बताए।



