- बैशाख २४, २०८३
- No Comment
- 16
ओलीले फिर्ता गरे दोहोरो सुविधामा लिएको गाडी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन्।
गृह मन्त्रालयले दोहोरो सुविधाअन्तर्गत लिइएको सवारी साधन फिर्ता गर्न पत्राचार गरेपछि अध्यक्ष ओलीले गाडी फिर्ता गरेको जनाइएको छ।
ओलीले बा १३ च ६४३७ नम्बरको निजी नम्बर प्लेट भएको गाडी बुधबार सरकारलाई फिर्ता गरेका हुन्।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।
प्रधानमन्त्री कार्यालयले गरेको पछिल्लो अध्ययनमा केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेभन्दा बढी सवारी साधन प्रयोग गरेको तथा विभिन्न निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला परेपछि गृह मन्त्रालयमार्फत स्पष्ट विवरण माग गरिएको हो।
सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई उपलब्ध गराइने सुविधा कानुनअनुसार व्यवस्थित गर्न थालेसँगै दोहोरो सुविधा लिने क्रमबारे निगरानी बढाइएको जनाएको छ।



