- बैशाख ४, २०८३
- No Comment
- 5
कानुन समितिको सभापतिमा रास्वपाकी समीक्षा बास्कोटा निर्विरोध निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित भएकी छिन्। शुक्रबार बसेको समितिको बैठकले उनलाई सभापति पदमा सर्वसम्मत रूपमा चयन गरेको हो।
बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले बास्कोटालाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। समितिको नेतृत्वका लागि उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चुनिएकी हुन्।
निर्वाचित भएपछि प्रतिक्रिया दिँदै बास्कोटाले आफू निर्विरोध निर्वाचित हुन पाउँदा निकै खुसी लागेको बताइन्। यसका साथै उनले आफूमाथि अब अझ ठूलो जिम्मेवारी थपिएको महसुस गरेको समेत उल्लेख गरिन्।
आफ्नो कार्यकालमा सबै सदस्यहरूसँगको छलफल र समन्वयलाई प्राथमिकता दिने उनले प्रतिबद्धता जनाइन्। उनले भनिन्, “हामी सबै बसेर महत्वपूर्ण विषयहरूमा छलफल गर्नेछौं र जिम्मेवारीपूर्वक समितिको काम कारबाहीलाई अगाडि बढाउनेछौं।”
कानुन निर्माण र मानवअधिकारको रक्षाका क्षेत्रमा यो समितिको भूमिका महत्वपूर्ण मानिन्छ। बास्कोटाले समितिलाई नयाँ र प्रभावकारी ढंगले सञ्चालन गर्ने संकेत समेत गरेकी छिन्।



