चौरजहारीका मेयर पुष्प वादी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं — पुष्प वादी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका मेयर वादीलाई विपक्षी बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
आयोगले मेयर वादीसँगै नगरपालिकामा कार्यरत असिस्टेन्ट सबइन्जिनियर मोहन शाह विरुद्ध पनि मुद्दा दायर गर्दै दुवैजनालाई सजायको माग गरेको छ।
अनुसन्धान अनुसार, असिस्टेन्ट सबइन्जिनियर शाहको करार अवधि थपिदिने सर्तमा मेयर वादीले घुस लिएको आरोप छ। शाह स्वयंले एक लाख रुपैयाँ घुस दिएको भन्दै अख्तियारमा उजुरी दिएका थिए।
आर्थिक वर्ष २०८१/८२ मा एक लाख रुपैयाँ घुस दिएपछि आफ्नो करार अवधि थपिएको तर २०८२/८३ मा पुनः घुस दिन नसक्दा करार नथपी बर्खास्त गरिएको शाहको दाबी रहेको छ।
अख्तियारले घुस लिने र दिने कार्यमा दुवै पक्ष संलग्न रहेको ठहर गर्दै घुसबापतको एक लाख रुपैयाँ जफत, विगोबमोजिम जरिवाना तथा कानुनअनुसार सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ।