सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय प्रचार विभाग संयोजक मिनबहादुर शाहीले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमाले लोकप्रिय मतसहित पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
शनिबार प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले देशका १६५ मध्ये १६३ निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार उठाएको जानकारी दिए।
शाहीका अनुसार आगामी निर्वाचनबाट एमालेले स्पष्ट बहुमत प्राप्त गरी सरकार गठन गर्नेछ। उनले पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट सर्वाधिक लोकप्रिय मतसहित विजयी हुने दाबीसमेत गरे। “विगतका योगदान र जनसमर्थनका आधारमा एमालेका उम्मेदवारहरू विजयी हुन्छन्,” उनले भने।
देशभर एक निर्वाचन क्षेत्र बाहेक अन्यत्र एमालेले कुनै पनि दल वा उम्मेदवारसँग गठबन्धन नगरेको शाहीले स्पष्ट पारे। कर्णाली प्रदेशमा रुकुम पश्चिम बाहेक अन्य जिल्लामा एमालेले गठबन्धन गरेको भन्ने हल्ला निराधार रहेको भन्दै उनले त्यसप्रति सचेत रहन आग्रह गरे।
एमालेले सामाजिक न्यायसहितको लोकतन्त्र सुदृढ बनाउन काम गरिरहेको दाबी गर्दै उनले मतदातालाई आफ्नो विवेक प्रयोग गर्न अनुरोध गरे। निर्वाचनको मुखमा मतदाताको मनोविज्ञान प्रभावित गर्ने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्दै शाहीले स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनावका लागि सरकार गम्भीर हुनुपर्ने बताए।
मतपेटिकाको सुरक्षाबारे विगतका अभ्यासअनुसार सुरक्षा निकायले जिम्मेवारी वहन गर्नुपर्ने धारणा राख्दै उनले युवालाई संगठित गर्ने नीति एमालेले अवलम्बन गरेको उल्लेख गरे। जेन–जीका मुद्दामा एमालेको फरक मत नरहेको तर त्यसको नाममा हिंसा मच्चाउने प्रवृत्तिको विरोध गरिने उनले बताए। “एमालेप्रति आकर्षण घटेको भन्ने कुरा गलत हो, युवामाझ समर्थन बढ्दो छ,” शाहीको भनाइ थियो।
यसैबीच, BBCले हालै सार्वजनिक गरेको एक डकुमेन्ट्रीप्रति संकेत गर्दै शाहीले निर्वाचनको सम्मुखमा यस्ता सामग्रीले मतदाताको मनोविज्ञान प्रभावित गर्न सक्ने टिप्पणी गरे। सबै सञ्चारमाध्यमप्रति विश्वास रहेको उल्लेख गर्दै उनले मतदान प्रभावित गर्ने खालका सामग्री प्रकाशन–प्रसारण नगर्न आग्रह गरे।