- फाल्गुन ४, २०८२
- No Comment
- 58
मुगुमा यस्तो छ चुनावी चहलपहल

मुगु — आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मुगुमा चुनावी चहलपहल तीव्र बन्दै गएको छ। जिल्लाभर राजनीतिक दल तथा उम्मेदवारहरू मतदातासम्म पुग्ने अभियानमा सक्रिय छन्। यसपटक मुख्य राजनीतिक शक्तिहरूबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेस का खडगबहादुर शाही, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्णहादुर रोकाया, नेपाली कम्युनिष्ट पार्टी का चन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी का भुवन टमाटा, नेकपा (माओवादी केन्द्र) का रङ्गवीर परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी का बलबहादुर मल्ल तथा प्रगतिशील लोकतान्त्रिक पार्टी का एटन मल्ल प्रतिस्पर्धामा छन्।
विसं २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा पराजित भएका काँग्रेसका शाही यसपटक प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्दै छन्। एमालेका रोकाया निवर्तमान जिल्ला समन्वय समितिका प्रमुखसमेत हुन्। नेपाली कम्युनिष्ट पार्टीका शाही २०५६ सालको संसदीय निर्वाचनमा विजयी भएका थिए। उनी २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भई कर्णाली प्रदेश सरकारमा कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
विसं २०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो र काँग्रेस दोस्रो भएको थियो। त्यसबेला एमालेले ८ हजार ६४३, काँग्रेसले ८ हजार ४४०, माओवादी केन्द्रले ४ हजार ६५० तथा नेकपा (एकीकृत समाजवादी) ले २ हजार ६१२ मत प्राप्त गरेका थिए। हाल माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता भई नेकपा गठन भएको छ, जसले यसपटकको चुनावी समीकरणमा प्रभाव पार्ने विश्लेषण गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टमाटाले आफूलाई नयाँ अनुहारका रूपमा प्रस्तुत गर्दै मत मागिरहेका छन्। अन्य दलका उम्मेदवारहरूले पनि आ–आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै घरदैलो र सभा–सम्मेलनलाई तीव्रता दिएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मुगुमा ३६ हजार ३१ जना मतदाता रहेका छन्। चार स्थानीय तह रहेको जिल्लामा ६७ मतदानस्थल र ७९ मतदान केन्द्र तोकिएका छन्। विसं २०७९ को निर्वाचनमा यहाँ करिब ७४ प्रतिशत मतदान भएको थियो।
त्यस निर्वाचनमा प्रत्यक्षतर्फ माओवादी केन्द्र, एकीकृत समाजवादी र काँग्रेसबीच गठबन्धन हुँदा काँग्रेसका ऐनबहादुर शाहीले १४ हजार ७०६ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवार राजबहादुर कार्कीले १० हजार ७१० मत ल्याएका थिए। यसपटकको प्रतिस्पर्धाले मुगुको राजनीतिक भविष्य कता मोडिने भन्ने चासो बढाएको छ।



