- फाल्गुन ३, २०८२
- No Comment
- 40
नियमित आलु खानुहुन्छ ? त्यसो भए जान्नुहोस् यी कुरा

काठमाडौँ — नेपाली भान्सामा दैनिकजसो प्रयोग हुने आलु स्वादका कारण मात्र होइन, पोषणका हिसाबले पनि महत्वपूर्ण मानिन्छ। सस्तो, सजिलै उपलब्ध हुने र विभिन्न परिकारमा प्रयोग गर्न सकिने भएकाले आलु धेरैको रोजाइमा पर्ने गरेको छ।
विशेषज्ञहरूका अनुसार आलुमा शरीरका लागि आवश्यक कार्बोहाइड्रेट, फाइबर, पोटासियम, भिटामिन ‘सी’, भिटामिन ‘बी६’, फोलेट, म्याग्नेसियम लगायतका पोषक तत्व पाइन्छन्। सन्तुलित मात्रामा सेवन गर्दा यसले शरीरलाई ऊर्जा दिनुका साथै विभिन्न स्वास्थ्य लाभ प्रदान गर्न सक्छ।
आलुमा पाइने पोटासियमले रक्तनली फराकिलो बनाउन मद्दत गर्ने भएकाले रक्तचाप सन्तुलनमा सहयोग पुग्ने बताइन्छ। कम सोडियमयुक्त आहारसँगै पोटासियमयुक्त खाद्य पदार्थको सेवनले उच्च रक्तचापको जोखिम घटाउन मद्दत गर्छ।
मुटुको स्वास्थ्यमा फाइदा
फाइबर र पोटासियमयुक्त भएकाले आलुले रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलनमा राख्न सहयोग पुर्याउन सक्छ। यसले मुटुसम्बन्धी रोगको जोखिम घटाउन टेवा पुग्ने पोषणविद्हरूको भनाइ छ।
क्यान्सर जोखिम घटाउन सहयोग
आलुमा पाइने फोलेट र भिटामिन ‘सी’ जस्ता तत्वले कोषको संरक्षणमा भूमिका खेल्ने विश्वास गरिन्छ। फाइबरयुक्त आहारले विशेषगरी कोलोरेक्टल क्यान्सरको जोखिम कम गर्न सहयोग पुर्याउने विभिन्न अध्ययनले देखाएका छन्।
मस्तिष्क कार्यप्रणालीमा सकारात्मक प्रभाव
आलु कार्बोहाइड्रेटको स्रोत भएकाले यसले शरीरलाई ऊर्जा प्रदान गर्छ। पर्याप्त ऊर्जा आपूर्तिले मस्तिष्कको कार्यक्षमता, एकाग्रता र सतर्कता कायम राख्न सहयोग पुर्याउन सक्छ।
यद्यपि, चिकित्सकहरू सन्तुलित आहारको महत्त्वमा जोड दिन्छन्। अत्यधिक तेलमा तारेको वा प्रशोधित रूपमा सेवन गर्दा भने स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। त्यसैले उमालेको, पकाएको वा कम तेलमा बनाइएको आलु सन्तुलित मात्रामा सेवन गर्नु उपयुक्त मानिन्छ।



