- माघ २०, २०८२
- No Comment
- 43
जापानमा हिमपातः दुई हप्तामा ३० जनाको मृत्यु

टोकियो। जापानमा पछिल्ला दुई हप्तादेखि जारी भीषण हिमपातका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ । जनवरी २० देखि फेब्रुअरी ३ सम्म परेको अत्यधिक हिमपातसँग सम्बन्धित घटनामा यी मृत्यु भएको जापानको फायर तथा डिजास्टर व्यवस्थापन एजेन्सीले जनाएको छ ।
एजेन्सीका अनुसार यसपटकको हिमपात हालसम्मकै असामान्य स्तरको रहेको छ । एक घटनामा ९१ वर्षीया महिला आफ्नै घर बाहिर करिब तीन मिटर हिउँमा पुरिएर मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यका लागि सैनिक परिचालन गर्ने आदेश दिएको छ । अधिकारीहरूले छाना तथा भवनबाट खस्ने हिउँ र हिमस्खलनको जोखिम बढेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
हिमपातको सबैभन्दा बढी असर ओमोरो सहरमा परेको छ, जहाँ १७५ सेमिसम्म हिउँ थुप्रिएको छ । यो मात्रा यस समयको औसतभन्दा दोब्बर रहेको बताइएको छ । केही क्षेत्रमा सोमबार १८३ सेमिसम्म हिउँ जमेको थियो, जुन सन् १९८६ यताकै उच्च स्तर हो ।
ओमोरोका गभर्नर सोइचिरो मियाशिताले वृद्ध तथा एक्लै बस्ने नागरिकलाई राहत उपलब्ध गराउन सेनाको सहयोग माग गरेका छन् ।
मृतकको संख्या हेर्दा उत्तरी निइगाटा प्रिफेक्चरमा १२ जनाको ज्यान गएको छ भने आकिता प्रिफेक्चरमा ६ जना, होक्काइडोमा ३ जना, ओमोरोमा २ जना र अन्य चार प्रान्तमा १–१ जनाको मृत्यु भएको बताइएको छ ।



