- माघ २०, २०८२
- No Comment
- 66
मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै

काठमाडौं। आईसीसी विश्वकपको तयारीलाई तीव्र बनाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोली मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकपअघि अन्तिम तयारीका रूपमा नेपालले चेन्नईमा दुई वटा ‘वार्म–अप’ खेल खेल्नेछ ।
नेपालले पहिलो अभ्यास खेल आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्नेछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा हुनेछ । नेपाल र यूएईबीच यसअघि पनि प्रतिस्पर्धात्मक खेलहरू हुँदै आएका छन् ।
यस्तै, नेपालले दोस्रो अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ । दुवै अभ्यास खेल विश्वकपका खेलहरू आयोजना हुने एमए चिदम्बरम मैदानमै हुने भएकाले टोलीलाई मैदान र परिस्थितिसँग अभ्यस्त हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । नेपाल विश्वकपको समूह ‘सी’ मा रहेको छ, जहाँ दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन् ।
समूह चरणमा नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्नेछ ।
नेपाली टोलीका सबै खेलका टिकट बिक्री भइसकेका छन् । यससँगै भारतीय मैदानमा नेपाली समर्थकको उल्लेख्य उपस्थिति र उत्साह देखिने अपेक्षा गरिएको छ ।
नेपालले यसअघि सन् २०१४ र सन् २०२४ का विश्वकप खेलिसकेको छ । यो तेस्रो सहभागितालाई नेपाली क्रिकेटको निरन्तर प्रगतिका रूपमा हेरिएको छ ।
विश्वकप खेल्ने नेपाली टोली
कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन् ।
यस विश्वकपमा समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् भने समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान रहेका छन् । समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।



