- माघ २०, २०८२
- No Comment
- 73
६ महिनापछि यस्ता खानेकुरा खुवाए बालबालिका स्वस्थ रहने विज्ञको सुझाव

काठमाडौँ। नवजात शिशुलाई जन्मदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । आमाको दूधले शिशुको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने चिकित्सकहरू बताउँछन् । तर ६ महिनापछि भने बच्चाको उमेर र स्वास्थ्यअनुसार बिस्तारै पूरक आहार सुरु गर्न आवश्यक हुने विज्ञहरूको भनाइ छ ।
नारायणी अस्पतालकी वरिष्ठ आहारविज्ञ पायल शर्माका अनुसार ६ महिनापछि बच्चालाई अनाज, फलफूल र तरकारी समावेश गरिएको सन्तुलित आहार दिनु जरुरी हुन्छ । “कतिपय अभिभावकले दाल वा तरकारीको पानी मात्र खुवाउने गर्छन्, तर यसले बच्चालाई आवश्यक पोषण पुग्दैन,” उनले भनिन्, “बच्चाको स्वास्थ्यलाई ध्यानमा राखेर पर्याप्त पोषक तत्व हुने खानेकुरा खुवाउनुपर्छ ।”
गाजर र चुकन्दरको मसला
६ महिनापछि बच्चालाई गाजर र चुकन्दरको राम्ररी पकाएर बनाइएको मसला खुवाउन सकिन्छ । गाजरमा भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । चुकन्दरमा आइरन, फोलेट र भिटामिन ‘सी’ पाइन्छ, जसले रगतको मात्रा बढाउनुका साथै शरीरलाई एन्टिअक्सिडेन्ट प्रदान गर्छ ।
मस खिचडी
बच्चा ८ देखि ९ महिनाको भएपछि मुगको दाल र भातबाट बनेको खिचडी खुवाउन सकिने विज्ञहरू बताउँछन् । खिचडीलाई राम्रोसँग पकाएर पिसेपछि मात्र खुवाउनुपर्छ । यो प्रोटिन र कार्बोहाइड्रेटको राम्रो स्रोत भएकाले बालबालिकाको मांसपेशी विकासमा सहयोग पुग्छ । यद्यपि मात्रा भने थोरै–थोरै गरेर खुवाउनुपर्छ ।
नरम इडली
८ देखि १२ महिनाका बच्चालाई घरमै बनाइएको नरम इडली पनि उपयुक्त मानिन्छ । चामल र दालको मिश्रणबाट बन्ने इडलीमा प्रोटिन र कार्बोहाइड्रेट प्रशस्त पाइन्छ । साथै, यसमा रहेका प्रोबायोटिक्सले बच्चाको पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ ।
विज्ञहरूका अनुसार बच्चालाई नयाँ खानेकुरा खुवाउँदा सरसफाइ, मात्रा र बच्चाको पाचन क्षमतामा विशेष ध्यान दिनु आवश्यक छ । सही समयमा सही आहार दिए बालबालिका स्वस्थ रहनुका साथै रोगबाट पनि जोगिन सक्छन् ।



