- माघ १८, २०८२
- No Comment
- 82
भारतमा निपाह भाइरस फैलिएपछि नेपालमा परीक्षण निर्देशिका जारी

काठमाडौं — भारतको पश्चिम बंगालमा निपाह भाइरसको प्रकोप देखिएसँगै त्यसको प्रभावलाई लिएर नेपालमा पनि सतर्कता बढाइएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शंकास्पद घटनामा निपाह भाइरस परीक्षण गर्न निर्देशन जारी गरेको छ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका सम्बन्धित स्वास्थ्य निकायलाई नयाँ परीक्षण निर्देशिका लागू गर्न निर्देशन दिएको हो।
महाशाखाले जारी गरेको नयाँ प्रोटोकलअनुसार सम्भावित निपाह संक्रमितको परिभाषामा मृत्यु भएका केस, गम्भीर तीव्र श्वासप्रश्वास सङ्क्रमण, तीव्र मस्तिष्क ज्वरो (इन्सेफालाइटिस), कोमा अवस्था, तथा निपाह भाइरस संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समावेश गरिएको छ।
यसैगरी निपाह प्रभावित क्षेत्रबाट फर्किएका, काँचो खजुरको रस सेवन गर्ने, तथा संक्रमित जनावर—विशेषगरी चमेरोसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई उच्च जोखिम समूहमा राखेर निगरानी गर्न निर्देशन दिइएको छ।
निपाह भाइरस जनावरबाट मानिसमा सर्ने जुनोटिक भाइरस हो। स्वास्थ्य विज्ञहरूका अनुसार यो भाइरस कोरोना भाइरसको तुलनामा कम फैलिने भए पनि निकै घातक मानिन्छ।
भारतमा यसै महिना पश्चिम बंगालमा निपाह भाइरसका दुई वटा सङ्क्रमण पुष्टि भएका छन्। पुष्टि भएका दुवै संक्रमित स्वास्थ्यकर्मी रहेको र उनीहरूमा गत वर्ष डिसेम्बरको अन्तिम साता लक्षण देखिन थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई अफवाहबाट नआत्तिन तर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।



