• माघ १८, २०८२
  • No Comment
  • 112

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा विधिपूर्वक समापन गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको स्वस्थानी व्रत आज सम्पन्न हुन लागेको हो।

पौष शुक्ल पूर्णिमादेखि नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै आएका भक्तजनले आज व्रत समापन गर्दैछन्। सोही अवधिदेखि स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा आधारित कुमार र अगस्त्यबीचको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने परम्पराको पनि आज अन्त्य गरिँदैछ।

विधिपूर्वक एक महिने व्रत गरेका बर्तालुले आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई भगवतीलाई अर्घ्य दिने विधि रहेको छ। चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ अंश पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई दिने तथा त्यो पनि सम्भव नभए कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा प्रवाह गर्ने चलन छ।

आज सय रोटी फलाहार गरी रात्रिमा जाग्राम बस्ने परम्परा छ। जाग्रामका क्रममा देवीको माहात्म्य वाचन–श्रवण गरिन्छ। यसो गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ। ‘स्वस्थानी’ शब्दको अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ। उत्तरायणपछिको समय ध्यान र योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आत्मासँग सम्पर्कको अभ्यासलाई स्वस्थानी भनिएको विश्वास छ।

व्रत कथाअनुसार स्वस्थानी देवी सुवर्ण वर्णकी, त्रिनेत्रधारी, कमल र सिंहासनमा विराजमान, चार हातमा नीलकमल, खड्ग, ढाल र वरदमुद्रा लिएकी देवीका रूपमा वर्णन गरिएको छ। स्वस्थानीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन, रोगव्याधिबाट मुक्ति तथा इच्छित वर–वधू प्राप्त हुने विश्वास प्रचलित छ।

इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्रवियोगबाट मुक्ति पाएको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा बनेको कथा स्वस्थानीमा उल्लेख छ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आज मध्याह्नपछि विधिपूर्वक पूजा गरी व्रत समापन गरिनेछ। रात्रिमा जाग्राम बसेर बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यस वर्षको स्वस्थानी व्रत पूर्ण रूपमा सम्पन्न हुनेछ।

यसैबीच, उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञसहित समापन गरिँदैछ। शालिनदीमा करिब १६२ महिला र १५ पुरुषले एक महिना लामो कठोर व्रत गरेका छन्। आजको दिनलाई नेवार समुदायले ‘सि पुन्हि’का रूपमा मनाउने गर्दछन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *