- माघ १८, २०८२
- No Comment
- 78
बिहान उठ्नेबित्तिकै यी काम गरे स्वास्थ्यमा मिल्छ फाइदा

नियमित दिनचर्याले मानिसको स्वास्थ्यमा ठूलो प्रभाव पार्ने गर्छ। स्वास्थ्यलाई सन्तुलित र सक्रिय राख्न दैनिक जीवनशैलीमा ध्यान दिनु अत्यन्त आवश्यक हुन्छ। भनाइ छ— “बिहानीले दिनको संकेत गर्छ”। त्यसैले दिनको सुरुवात सही तरिकाले गर्न सकेमा सम्पूर्ण दिन ऊर्जाशील र सकारात्मक बन्न सक्छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिहान उठ्नेबित्तिकै केही उपयोगी बानी अपनाउँदा शरीर र मन दुवै स्वस्थ रहन्छन्। ती बानीहरू यस प्रकार छन्–
१. दाँत सफा गर्ने
बिहान उठ्नेबित्तिकै दाँत माझ्नु अत्यन्त आवश्यक हुन्छ। यसले मुखको स्वास्थ्य राम्रो राख्नुका साथै ब्याक्टेरियाबाट बच्न मद्दत गर्छ। दाँत सफा गर्दा चिकित्सकको सल्लाहअनुसार मात्र अतिरिक्त सामग्री प्रयोग गर्नुपर्ने सुझाव दिइन्छ।
२. जिब्रो सफा गर्ने
दाँतसँगै जिब्रो सफा गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। जिब्रोमा जमेको फोहोरले दुर्गन्ध र पाचनसम्बन्धी समस्या निम्त्याउन सक्छ। त्यसका लागि टंग क्लिनर प्रयोग गर्न सकिन्छ।
३. कान वरिपरि मसाज गर्ने
बिहानै कानको वरिपरि हल्का मसाज गर्दा शरीर ताजगी महसुस हुन्छ। यसले रक्तसञ्चार बढाउन सहयोग गर्नुका साथै निद्रा खुल्न मद्दत गर्छ।
४. एक चम्चा मह खाने
मह प्राकृतिक औषधि मानिन्छ। बिहान एक चम्चा मह सेवन गर्दा खोकीजस्ता समस्या कम हुनुका साथै स्मरणशक्ति बढ्न सहयोग पुग्ने विश्वास गरिएको छ।
५. तातो पानीमा कागती मिसाएर पिउने
बिहान तातो पानीमा कागती मिसाएर पिउँदा पाचन प्रणाली सक्रिय हुन्छ। यसले शरीरमा जम्मा भएका विषाक्त पदार्थ (टक्सिन) बाहिर निकाल्न मद्दत गर्ने बताइन्छ।
विशेषज्ञहरूका अनुसार यी बानीहरूलाई नियमित रूपमा अपनाउन सके स्वास्थ्यमा सकारात्मक परिवर्तन देखिन सक्छ। यद्यपि कुनै पनि उपाय अपनाउनु अघि स्वास्थ्यकर्मीको सल्लाह लिनु उपयुक्त हुन्छ।



