- माघ १७, २०८२
- No Comment
- 235
सामाजिक सञ्जाल जस्तोसुकै भए पनि जनताको रोजाइ नेकपा एमाले नै हो : अध्यक्ष देवकोटा

सुर्खेत । नेकपा एमाले सुर्खेत जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार कुलमणी देवकोटाले सामाजिक सञ्जालमा देखिने प्रतिक्रिया र वास्तविक जनताको मनोभावबीच ठूलो अन्तर रहेको बताएका छन्। गाउँ–गाउँमा पुगेर जनताको अवस्था बुझ्दा नेकपा एमालेप्रति जनविश्वास र समर्थन स्पष्ट देखिएको उनले दाबी गरे।
घरदैलो अभियानका क्रममा बोल्दै अध्यक्ष देवकोटाले भने, “सामाजिक सञ्जाल वा गुगलमा जे देखिए पनि वास्तविक भुगोलमा नेकपा एमालेले जित्ने अवस्था छ।” उनले आफू पार्टीको प्रतिनिधि मात्र नभई गाउँ–घरका जनताको सुख–दुःख बुझ्ने उम्मेदवार भएको उल्लेख गरे।
जनतासँग प्रत्यक्ष संवाद गर्दा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासका विषय प्रमुख सरोकारका रूपमा उठिरहेको बताउँदै देवकोटाले जनताको आवाजलाई व्यवहारमै सम्बोधन गर्ने प्रतिबद्धता जनाए। “जनताको घरदैलोमा पुगेर समस्या बुझेको छु, ती समस्या समाधान गर्नु मेरो पहिलो दायित्व हुनेछ,” उनले भने।
कृषि र पर्यटनलाई स्थानीय समृद्धिको आधार बनाउँदै आयआर्जन बढाउनुपर्नेमा जोड दिँदै उनले आफू किसानको छोरा भएकाले श्रम, उत्पादन र किसानका पीडा नजिकबाट बुझेको बताए। देशको समग्र विकास र स्थायित्वका लागि नेकपा एमालेको नीति, विचार र नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो।
देवकोटाले पछिल्लो समय केही नयाँ शक्तिहरूले समाजमा उत्तेजना, घृणा र निराशा फैलाउने काम गरिरहेको आरोप लगाउँदै निर्णायक राष्ट्रिय शक्तिका रूपमा नेकपा एमालेलाई थप सुदृढ बनाउनु आवश्यक रहेको बताए। “देश, जिल्ला र गाउँ–टोलको विकासका लागि नेकपा एमालेको जित अनिवार्य छ,” उनले जोड दिए।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेतादेखि स्थानीय अगुवा कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।



