- माघ १७, २०८२
- No Comment
- 79
जुम्लामा ९७४ निर्वाचन प्रहरी छनोट

जुम्ला — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा ९७४ जना निर्वाचन प्रहरी छनोट भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार छनोट भएका मध्ये ८७८ जना नेपाल प्रहरी र ९६ जना सशस्त्र प्रहरी बलका रहेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले सबै प्रक्रिया पूरा गरी छनोट भएका निर्वाचन प्रहरीलाई आइतबार नियुक्तिका लागि सम्पर्कमा बोलाइएको जानकारी दिए।
निर्वाचन प्रयोजनका लागि जुम्ला जिल्लामा कुल मतदाता संख्या ७१ हजार ७३९ रहेको छ। जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार कुल मतदातामध्ये ३४ हजार २८० महिला र ३७ हजार ४५९ पुरुष रहेका छन्।
एक नगरपालिका र सात गाउँपालिका रहेको जुम्ला जिल्लामा ८५ मतदानस्थल र ११० मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ। साथै जिल्लामा रहेका मतदानस्थलहरूको सुरक्षा संवेदनशीलताको आधारमा वर्गीकरण गर्ने काम सम्पन्न भइसकेको छ।
एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा एक स्वतन्त्रसहित नौ राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। नेकपा (एमाले) बाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही, नेकपा (नेकपा) बाट नरेश भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ज्ञानबहादुर शाही उम्मेदवार रहेका छन्।
यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट बिर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही र नेकपा (माओवादी) बाट बिर्खबहादुर शाही चुनावी मैदानमा छन्। भक्तबहादुर रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
सुरक्षित, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासनले जनाएको छ।



