- माघ १६, २०८२
- No Comment
- 88
जुम्लाबाट बिरामी लिएर नेपालगन्ज जाँदै गरेको हेलिकप्टर बबईमा आकस्मिक अवतरण

सुर्खेत । जुम्लाबाट बिरामी लिएर नेपालगन्जतर्फ उडेको हेलिकप्टर प्रतिकूल मौसमका कारण सुर्खेतको बबईमा आकस्मिक अवतरण भएको छ ।
मुस्ताङ एयरको नाइन–एन–एएनओ कलसाइन भएको उक्त हेलिकप्टर आज दिउँसो खराब मौसमका कारण बबईमा अवतरण गर्नुपरेको हो । यसअघि आजै दिउँसो करिब २ बजेतिर हेलिकप्टर सल्यानको कालिमाटी गाउँपालिका–७ घुइयाबारीमा पनि अवतरण गरेको थियो ।
वडाध्यक्ष मित्रलाल रिजालका अनुसार नेपालगन्ज क्षेत्रमा मौसम खराब भएकाले त्यहाँ अवतरण गर्न नसकेपछि पाइलटले घुइयाबारीमा फोर्स ल्याण्ड गर्नुपरेको जानकारी दिएका थिए ।
जुम्लाबाट ल्याइएका हृदयघातका बिरामीलाई नेपालगन्ज हुँदै काठमाडौं लैजानुपर्ने अवस्था थियो । तर घुइयाबारीसम्म एम्बुलेन्स पुग्न धेरै समय लाग्ने भएकाले बिरामीलाई बबईसम्म एम्बुलेन्समार्फत ल्याइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए ।
उनका अनुसार बबईमा बिरामी स्थानान्तरणपछि सोही हेलिकप्टरले आज सवा ४ बजेतिर काठमाडौंका लागि उडान भरेको छ ।



