• माघ १३, २०८२
  • No Comment
  • 48

एभोकाडो स्वास्थ्यका लागि यति धेरै उपयोगी फल

काठमाडौं — पछिल्लो समय नेपालमा एभोकाडो फलको उत्पादन र उपभोग दुवै बढ्दै गएको छ। कुलु नास्पती, एलिगेटर वा माखन फल भनेर पनि चिनिने एभोकाडो स्वास्थ्यका लागि अत्यन्त लाभदायक भए पनि यसको महत्त्वबारे अझै धेरै मानिस सचेत हुन सकेका छैनन्।
मध्यअमेरिका र मेक्सिकोमा उत्पत्ति भएको मानिने एभोकाडो आयुर्वेदिक दृष्टिले पनि औषधीय गुणले भरिपूर्ण फल हो। यसमा कोलेस्ट्रोल नहुने भएकाले सबै उमेर समूहका मानिसले सेवन गर्न सक्ने विज्ञहरू बताउँछन्। नियमित रूपमा सेवन गर्दा शरीरमा रहेको खराब कोलेस्ट्रोल घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
एभोकाडो समुद्र सतहबाट करिब २,५०० मिटर उचाइसम्म उत्पादन गर्न सकिन्छ। नेपालका पहाड, तराई, भित्री मधेश, खोंच र मध्यपहाडी क्षेत्रमा यसको खेती विस्तार हुँदै गएको छ। किसानहरूका अनुसार एभोकाडोको बोट एकदेखि पाँच वर्षमै फल दिन थाल्छ र एकै बोटबाट सयदेखि पाँच सयसम्म फल लाग्न सक्छ। करिब ५५ वर्षसम्म फल दिने यो बोटबाट किसानहरूले राम्रो आम्दानी पनि गरिरहेका छन्।
पोषणका दृष्टिले एभोकाडो निकै समृद्ध फल मानिन्छ। यसमा करिब २० प्रकारका भिटामिन र खनिज पाइन्छन्। चिनीको मात्रा कम र फाइबरको मात्रा धेरै हुने भएकाले यो स्वास्थ्यवर्द्धक फल हो। एभोकाडोमा पाइने मोनोअनस्याचुरेटेड फ्याट (राम्रो बोसो) ले मुटुको स्वास्थ्य जोगाउन मद्दत गर्छ भने पोटासियमले उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुर्‍याउँछ।
स्वास्थ्य विज्ञहरूका अनुसार एभोकाडोको सेवनले हृदयघात, मिर्गौला समस्या, कब्जियत तथा तौल नियन्त्रणमा सकारात्मक प्रभाव पार्न सक्छ। यसमा पाइने फोलेटले केही प्रकारका क्यान्सरको जोखिम कम गर्न मद्दत गर्ने विश्वास गरिएको छ। त्यस्तै, भिटामिन ‘के’ र ‘ई’ ले हड्डीलाई मजबुत बनाउने र शरीरको सूजन कम गर्ने काम गर्छन्।
आँखाको स्वास्थ्यका लागि पनि एभोकाडो लाभदायक मानिन्छ। यसमा पाइने लुटेन र जेक्सान्थिन नामक एन्टिअक्सिडेन्टले मोतिबिन्दु र आँखासम्बन्धी अन्य समस्याबाट जोगाउन मद्दत गर्छन्।
गर्भावस्थामा रहेका महिलाका लागि पनि एभोकाडो उपयोगी फल मानिन्छ। यसमा रहेको फोलेटले गर्भमा रहेको शिशुको मस्तिष्क र मेरुदण्डको विकासमा सहयोग पुर्‍याउने चिकित्सकहरू बताउँछन्।
स्वस्थ जीवनशैलीका लागि पौष्टिक आहार आवश्यक हुने भएकाले एभोकाडो जस्तो फलको सेवन बढाउनुपर्ने विज्ञहरूको सुझाव छ। स्वास्थ्य र आम्दानी दुवैका दृष्टिले उपयोगी एभोकाडो नेपालको कृषि क्षेत्रमा सम्भावनायुक्त फलका रूपमा स्थापित हुँदै गएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *