- माघ ८, २०८२
- No Comment
- 53
टिकटक बन्द गर्ने सरकारी आदेश क्यानडाको अदालतले गर्यो बदर

काठमाडौँ। क्यानडाको सङ्घीय अदालतले देशभित्र चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको सञ्चालन बन्द गर्न दिइएको सरकारी आदेश बदर गरेको छ।
बुधबार आएको फैसलासँगै टिकटकले हालका लागि क्यानडामा आफ्नो सेवा निरन्तर सञ्चालन गर्न पाउने भएको छ। अदालतले उक्त निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशनसमेत दिएको छ।
सन् २०२४ को नोभेम्बरमा क्यानडाको उद्योग मन्त्रालयले राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम देखाउँदै टिकटकको क्यानडाली व्यवसाय विघटन गर्न आदेश दिएको थियो। यद्यपि सो आदेशले प्रयोगकर्ताको पहुँच तथा सामग्री सिर्जनामा प्रत्यक्ष रोक भने नलगाइने स्पष्ट गरिएको थियो।
टिकटकका अनुसार क्यानडामा यस एपका १ करोड ४० लाखभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता रहेका छन्। सरकारी आदेशविरुद्ध टिकटकले सङ्घीय अदालतमा अपिल दायर गरेको थियो।
सङ्घीय अदालतका न्यायाधीश रस्सेल जिन्नले सरकारको आदेश खारेज गर्दै विषयलाई उद्योग मन्त्री मेलानी जोलीसमक्ष पुनरावलोकनका लागि पठाएका छन्। अदालतको फैसलाको विस्तृत कारण भने हाल सार्वजनिक गरिएको छैन।
अदालतको निर्णयलाई स्वागत गर्दै टिकटकले क्यानडाली सरकारसँग सहकार्य गर्न आफू तत्पर रहेको जनाएको छ। पछिल्लो समय क्यानडेली प्रधानमन्त्री मार्क कार्नी चीनसँग सम्बन्ध सुधार र सुदृढ गर्ने प्रयासमा रहेको सन्दर्भमा यो फैसला आएको हो।
चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकमाथि प्रयोगकर्ताको डाटा सुरक्षालाई लिएर क्यानडासहित विश्वका अन्य कयौँ देशहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।



